प्रधानमन्त्रीले विश्वासको मत लिन खोजेपछि कांग्रेस-एमाले डराए : मनिष झा

होमल्याण्ड खबर

२०८१ असार २५ गते, सोमबार १५:३९ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले संविधान र मुलुकको प्रणालीलाई दलहरुले अविश्वास गरेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकको बिशेष समयमा बोल्दै झाले प्रधानमन्त्रीले सदनमा विश्वासको मत लिन खोजेपछि त्यसबाट डराएर राजीनामा माग गरिरहेको भन्दै यसले संविधान र मुलुकको प्रणालीलाई दलहरुले अविश्वास गरेको देखिएको बताएका हुन् ।

उनले कांग्रेस–एमालेलाई चारदिनमा अर्को राजनीतिक परिस्थीति सिर्जना हुने डर पैदा भएको आरोप समेत लगाए । सांसद झाले कांग्रेस–एमालेबीच भएको सहमतिप्रति पनि आशंका व्यक्त गरे ।

उनले २०५९ सालमा ज्ञानेन्द्र शाहलाइ र २०६९ साल चैत्रमा खिलराज रेग्मीलाई संविधान, सदन र सरकार बुझाएझैं अहिलेको संविधान, सदन र सरकार नबुझाउन सुझाव दिए । नयाँ बन्ने सरकारले काम गर्न नसके आफुहरु पालो कुरेर बसेको भन्दै उनले कुनै बेचेनको सहकार्यबिना नै देशलाई पार लगाउने दावी गरे ।

सांसद झाले सञ्चारमाध्यममा आएका तर्कहरुका आधारमा सहकारी प्रकरणमा संसदीय छानविन गठन गरिएको भन्दै अहिले बाहिर आएका राजनीतिक पद अख्तियारीको दुरुपयोग गरेका घटनाहरुका सन्दर्भमा कुन समिति बनाउने भन्दै प्रश्न गरे ।