एमालेबाट मन्त्री छान्ने जिम्मा ओलीलाई, यस्ता छन् तिन मापदण्ड

होमल्याण्ड खबर

२०८१ असार २६ गते, मंगलवार १०:४६ मा प्रकाशित

कांग्रेस, एमालेसहितको समीकरण अन्तर्गत एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार निर्माणको तयारीसँगै एमालेबाट मन्त्री बन्नेहरूको न्यूनतम तीन वटा आधारसहितको मापदण्ड बनाउने भएको छ । त्यसका लागि एमालेले मंगलबार बस्ने केन्द्रीय सचिवालय बैठकमा व्यापक छलफल गर्ने एमाले नेताहरूले बताएका छन् ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले मंगलबार दिउँसो बस्ने सचिवालय बैठकमा मुख्यगरी तीन वटा विषयमा छलफल हुने जानकारी दिए । ‘सचिवालय बैठकमा पछिल्लो राजनीतिक परिघटना, पार्टी कामको व्यवस्थापन र सरकार लगायतका विषयमा छलफल हुन्छ’, गौतमले भने । उनका अनुसार सचिवालय बैठकले केही नेताको जिम्मेवारीसमेत हेरफेर गर्नेछ ।

असार २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा विश्वासको मत लिने भएकाले सो दिन उनको पक्षमा बहुमत सांसदको समर्थन नहुने संसद्को अङ्कगणित देखिएपछि एमालेले पार्टी कामको व्यवस्थापनसहित मन्त्री छान्ने गृहकार्य अघि बढाउने भएको हो ।

जनतालाई डेलिभरी दिनसक्ने सरकार गठन गर्ने भनिएकाले पनि यो पटक सरकारमा काम गर्न सक्ने व्यक्ति छानेरमात्र पठाउने तयारी एमालेले गरेको छ । ‘यो सरकारलाई कुनै पनि हालतमा असफल हुने छुट छैन’, गौतमले रातोपाटीसँग भने, ‘त्यसकारण काविल, योग्य तथा कार्यक्रम र नीतिगत हिसाबमा आफ्नो मन्त्रालय लिड गर्न सक्ने मान्छे सरकारमा जान्छन् ।’

मन्त्री हुनलाई यिनै मुख्य तीन आधारलाई अपनाएर अघि बढ्ने गौतमको भनाइ छ । ‘त्यसरी आधार तयार गर्दा नयाँ–पुराना अनुहार जो पनि हुन सक्छन्’, उनले भने ।