१ मंसिर २०८१, शनिबार
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री प्रचण्डले खेल नबुझेका कारणले अहिले सत्ता गुमेको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बुढानीलकण्ठबाट बालकोट पुग्नुको परिणाम अब भोग्नुको विकल्प नभएको बताए ।
उनको भनाइ ,अहिले प्रधानमन्त्रीले खेल बुझ्नुभएन । पुस १० गते तपाईं जहाँ पुग्नुभएको थियो, त्यही दिनदेखि दशा सुरु भएको थियो । तपाईंले बुझ्नुभएन । तपाईं कति पटक बालकोट र बुढानीलकण्ठ पुग्नुभयो । यसरी चल्छ राजनीति ? पछिल्लो पटक तपाईंलाई पाँच वर्षको लागि सत्ता र शक्तिमा राख्न संसदभित्रको दोस्रो पार्टी मिसिएको थिएन ।
लाटो खान्छ एक बल्ड्याङ, बाठो खान्छ चार बल्ड्याङ भने जस्तो तपाईंले बल्ल भोग्नुभयो । तपाईंहरुको मन्त्रिमण्डल गठन गर्दा नै ठूलो पार्टीले अर्थ र गृह मन्त्रालय किन लिएन, म राजनीति नजान्ने मान्छेले पनि अड्कल गरेको थिएँ । दालमा काला हे, बुढानीलकण्ठले आफ्नो पार्टीभित्र केही विवाद भएका कारणलाई आधार बनाएर फुत्त बालकोट पुग्नुभयो, त्यसको परिणाम भोग्नुभएको छ । अब तपाईंले केही गरे पनि हुनेवाला केही छैन ।