१ मंसिर २०८१, शनिबार
कामचलाउ सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरकार परिवर्तनको प्रक्रिया सुरु भएसँगै कयौँ विषयहरू सामसुम बन्न लागेको भन्दै अनुसन्धानमा हात नकमाउन प्रहरीलाई निर्देशन दिएका छन् । आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री लामिछानेले आफूले थालेका अनुसन्धानका घटना रोकिन नहुने समेत बताए ।
उनले निर्मला हत्या प्रकरणको अनुसन्धान अत्यन्त नजिक पुगेको भन्दै अनुसन्धानमा खटिने प्रहरी कर्मचारीलाई धन्यवाद दिए । ‘तर बाहिर आएका कयौँ चिजहरू सरकार परिवर्तनसँगै सामसुम देखिन्छ । चाइँचुइँ नबोलेको अवस्था छ । त्यतिखेर नेपाल प्रहरी र अनुसन्धान ब्युरोले तदारुकताका साथ काम गरोस्’, मन्त्री लामिछानेको भनाइ छ ।
उनले कलम झुक्दैन र रोकिँदैन भनेको आफूले सुनेको भन्दै कलम रोकिएको बताए । ‘बेचन झा पक्राउ परेसँगै उनको अडियो सार्वजनिक भएको छ । मन्त्रिपरिषद्ले नै निर्णय गराएको रहेछ भन्ने उनको अडियो र कयौँ कुराकानीबाट पुष्टि हुने ठाउँहरू प्रशस्त छन्’, लामिछानेको भनाइ छ ।
उनले भोलि त्यो पुष्टि हुँदा र अनुसन्धान हुँदै जाँदा राजनीतिक शक्ति केन्द्रमा पुग्न सक्ने भएकाले त्यसवेला राजनीतिक परिवर्तनसँग प्रहरी प्रशासनको कुनै लेनादेना छैन भन्ने प्रमाणित गर्न पनि निर्देशन दिए । त्यसक्रममा उनले टीकापुर घटनाको अनुसन्धानमा कहीँ कतै कमी आउनु नहुने र आफू पनि ती घटना नियालिरहेको हुने बताए ।
जीवी राईको विषयमा इन्टरपोलसँग निरन्तर संवाद आफूसँग भएको र त्यसबारे अन्तिम निष्कर्ष आफ्नो कार्यकालमा हुन नसके पनि निष्कर्षमा पुर्याउन नसकिने विषय नरहेको बताए ।