काम देखाउन नसकेसम्म खादामाला नलाउने स्वास्थ्यमन्त्री पौडेलको घोषणा

होमल्याण्ड खबर

२०८१ असार ३२ गते, सोमबार १४:३६ मा प्रकाशित

नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेका छन् । आज राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिए लगत्तै मन्त्री पौडेलले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

जिम्मेवारी सम्हाल्दै मन्त्रीले पौडेलले सबैको सल्लाह सुझाव लिएर स्वास्थ्य क्षेत्रको सुधारमा लाग्ने बताए । मन्त्री पौडेलले आफूले प्राप्त गरेको अवसरलाई नतिजामुखी बनाउन सबै ऊर्जा लगाउने प्रतिबद्धता समेत जनाए ।

स्वास्थ्यमा राज्यले गरेको लगानीअनुसारको प्रतिफल आउने गरी काम अगाडि बढाइने पनि मन्त्री पौडेलको भनाइ छ ।

नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप पौडेलले फूलमाला र खादा लगाउन अस्वीकार गरेका छन् । मन्त्रालयमा कर्मचारीले उनको स्वागतमा सबै तयारी गरेपनि उनले मानेनन् ।

नेपाली कांग्रेसका युवा नेता पौडेल पहिलो पटक सरकारमा गएका हुन् । उनी काठमाडौं ५ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् । उनले स्वास्थ्य मन्त्रालयमा रहेर काम गरेर देखाउन नसकेसम्म कतैपनि माला र खादा नलगाउने घोषणा गरेका छन् ।