नयाँ सरकारले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउँछः अर्थमन्त्री विष्णु पौडेल

होमल्याण्ड खबर

२०८१ असार ३२ गते, सोमबार १५:११ मा प्रकाशित

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले नयाँ सरकारले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने बताएका छन् । टुटेको आत्मविश्वास हटाएर जनतामा नयाँ आशा भर्ने नयाँ सरकारको उद्देश्य रहेको उनले बताए ।

सोमवार अपरान्ह अर्थ मन्त्रालयमा कार्यभार सम्हाल्दै मन्त्री पौडेलले नागरिकमा आत्मविश्वास भर्नु सरकारको प्राथमिकता हुने बताएका हुन् ।
‘नयाँ सरकारले सन्देश दिएको छ, राजनीतिक स्थिरता हुने र शिथिल अर्थतन्त्रलाई चलायमान गराउने । मानिसको आत्मविश्वास टुटेको छ, नागरिकमा निराशा चिर्ने र आशा जगाउने काम सरकारले गर्नेछ,’ उनले भने ।

मन्त्री पौडेलले विकास वित्तका नयाँ विकल्प खोज्ने, संस्थागत अध्ययन गर्ने फाइलमा पहिलो हस्ताक्षर गरेका छन् । विकास खर्च कम गर्ने र रोगलाई हटाउने उनले वाचा गरे ।

मन्त्री पौडेलले अर्थतन्त्रका समस्या समाधानका निम्ति सहजीकरण गर्ने प्रतिबद्धता जनाए । सरकारका सोच र कार्यक्रम कार्यान्वयन गर्न समस्या महसुस भएमा बजेटलाई रिभ्यू गर्ने पनि उनले बताए ।

‘सरकारका सोच र कार्यक्रम कार्यान्वयन गर्न केही समस्या महसुस भयो भने बजेट बाधक बन्दैन । हामीले रिभ्यू पनि गर्न सक्छौं,’ उनले भने ।