३० कार्तिक २०८१, शुक्रबार
बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामासहित १० जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । कांग्रेस संसदीय दलका नेता लामासहित मन्त्रीहरूलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले बुधबार बिहान पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
लामाले मुख्यमन्त्रीको शपथ लिएलगत्तै कांग्रेसका तीनसहित सत्तासाझेदार दल एमालेबाट नियुक्त भएका ६ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन् । मुख्यमन्त्रीसहित १३ जनाको मन्त्रीहरूले शपथ लिने भनिए पनि अन्तिममा आएर कांग्रेसका तीनजनाले मात्रै शपथ लिएका छन् ।
एमालेका तर्फबाट कृषि तथा पशुपन्छीमन्त्री प्रकाश श्रेष्ठ, स्वास्थ्यमन्त्री किरण थापा, वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवाल, उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री सुकमाया तामाङ, भौतिक पूर्वाधार विकासमन्त्री अमन मास्के र श्रम रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले शपथ लिएका छन् ।
कांग्रेसबाट शपथ लिएका मन्त्रीहरूको जिम्मेवारी पछि तोकिने प्रदेश प्रमुख कार्यालयले जनाएको छ । कांग्रेसका तर्फबाट विनाविभागीयमन्त्रीका रूपमा कुन्दन काफ्ले, श्याम खड्का र मदुकुमार श्रेष्ठले शपथ लिएका छन् । कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेत गोविन्दप्रसाद लम्सालले कांग्रेसको भागमा परेका मन्त्रालय र मन्त्रीहरूको चाँडै टुंगो लगाउने जानकारी दिए ।
यस्तै, केन्द्रमा कांग्रेस र एमालेबीच नयाँ सत्तागठबन्धन बनेपछि यहाँ एमालेको समर्थनमा कांग्रेसका लामा मुख्यमन्त्री बनेका हुन् । लगभग ४१ महिना अवधि बाँकी रहेको प्रदेश सभामा कांग्रेस र एमालेबीच २०–२० महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ । सोहीअनुसार पहिलो चरणमा कांग्रेसका बहादुरसिंह लामाको नेतृत्वमा प्रदेश सरकार गठन भएको हो भने २० महिनापछि एमालेको नेतृत्वमा सरकार बन्नेछ ।