संसद् भवन निर्माणको गति सुस्त देखिएको ढिलाइप्रति उपप्रधानमन्त्री सिंह असन्तुष्ट

होमल्याण्ड खबर

२०८१ श्रावण १५ गते, मंगलवार १२:३७ मा प्रकाशित

उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले संसद् भवन निर्माणको गति सुस्त देखिएको भन्दै चासो व्यक्त गरेका छन् । काम गति सुस्त भएको गुनासो पछि आज निरीक्षणमा पुगेका उपप्रधानमन्त्री सिंहले सिफ्ट बढाएर भए पनि बाँकी रहेको काम ९ महिनाको समयावधिभित्र सक्न निर्देशन दिए। त्यसका लागि आवश्यक सहजीकरण गर्न मन्त्रालय तयार रहेको भन्दै उनले काम समयमै सक्नुपर्नेमा जोड दिए ।

‘समयमा भवन निर्माणको काम सम्पन्न गर्न के समस्या छ ? मन्त्रालयले के सहजीकरण गर्नुपर्छ ? मन्त्रालय तयार छ । काम छिटो हुनुपर्यो । दोहोरो, तेहरो सिफ्टमा काम गरेर भए पनि बाँकी रहेको समयावधि ९ महिनामा बाँकी सबै काम काम सक्नुपर्‍यो,’ उपप्रधानमन्त्री सिंहले निरीक्षणपछि भने ।

निर्माण सम्झौता अनुसार आगामी नौ महिनामा काम सम्पन्न गर्नुपर्ने भए पनि ठेकदार कम्पनीले काममा गति दिएको देखिएको छैन । सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले कम्तीमा दुई सिफ्टमा काम गर्न ठेकदार कम्पनीलाई निर्देशन दिए पनि हाल एक सिफ्टमा मात्रै काम भइरहेको बताए । प्रतिदिन ७ सय जनाले काम गर्नुपर्नेमा एक डेढ सयले काम गरेपछि निर्माणमा ढिलाइ भएको हो । उनले भने, ‘श्रमिकको सङ्ख्या पुगेन । कन्ट्राक्टरलाई अहिलेसम्म काममा भइरहेको ढिलाइ कसरी पूर्ति गर्नुहुन्छ भनेर हामी छलफल गरिरहेका छौँ । यसको समाधान गर्छौं ।’

सिंहदरबार परिसरमा सङ्घीय सांसदका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभा, संसदीय समितिहरू, संसदीय दलका कार्यालयसमेत रहने गरी १२ वटा ब्लक सहितको भव्य भवन निर्माणको काम भइरहेको छ।