देशमा हिंसात्मक द्वन्द्व अब हुन दिँदैनौँ : प्रधानमन्त्री ओली

होमल्याण्ड खबर

२०८१ श्रावण २३ गते, बुधबार १३:४५ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा हिंसात्मक द्वन्द्वले ठूलो पीडा भोग्नुपरेको टिप्पणी गरेका छन्। टीआरसी विधेयकसम्बन्धी कार्यदलले प्रतिवेदन बुझाएपछि बोल्दै ०६३ सालमै युद्ध र हिंसाको अन्त्य घोषणा गरिसकेपछि अब पनि यो विषयलाई धेरै लम्ब्याउन नहुने बताए।

अब कानून बनाएर कार्यान्वयनमा जानको लागि सबै दलको सहमति र सहकार्य आवश्यक भएको बताए।

त्यसबारे उनको भनाइ:
एउटा पीडादायी विगतबाट त हामी गुज्रियौँ। त्यसैले हामीले यसलाई समाधान गर्नुपर्‍यो। देशमा हिंसात्मक द्वन्द्व भयो। त्यसले देशलाई ठूलो पीडा पनि दियो। त्यसका सकारात्मक पक्ष पनि होलान्। त्यसलाई शान्तिमा लैजानुपर्ने अवस्था थियो। त्यसैको सन्दर्भमा हामीले अरू कुराहरू टुङ्ग्यायौँ।

०६३ सालको सुरुदेखि नै युद्ध र हिंसाको अन्त्य भनेर घोषणा गरिसकेपछि र त्यसलाई अस्वीकार गरेका समूहहरूलाई पनि हिंसाका विचार र अभ्यासलाई पनि वार्ताको माध्यमबाट सहमतिमा ल्याइसकेपछि यसलाई बाँकी राख्नु उचित हुँदैन। कहिले कहिले राजनीतिमा शंका आशंका हुनु स्वभाविक हो। तर, शान्ति हामी सबैको चाहना हो।

विश्व समुदायले पनि स्वीकार्ने नमुनाको रूपमा बुझोस्, सर्वोच्चको फैसलालाई सम्मान गर्दै पीडितमैत्री बनाऔँ भन्ने कुरालाई ध्यानमा राखेर अन्तिम रूपमा द्वन्द्वको अवशेषलाई समाप्त पारेर भविष्यमा यस्ता द्वन्द्व नहोस् भन्ने गरी यो ऐन बनेको छ।

यसलाई तुरुन्तै पारित गर्छौँ। यसका लागि आयोगहरुको गठन पूनर्गठन सबैसँग छलफलमा गर्छौ। कानून पारित गरेपछि कार्यान्वयनको जटिल परिस्थिति आउँछ त्यसका सबैको सहकार्य र सहमति चाहिन्छ।