३० कार्तिक २०८१, शुक्रबार
रास्वपाको महामन्त्रीबाट पदमुक्त भएका डा मुकुल ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो स्पष्टीकरण सोधेको छ । मुकुललाई महामन्त्रीबाट पदमुक्त गरेको निर्णय निर्वाचन आयोगमा विचाराधीन रहेकै बेला रास्वपाले बुधबार अर्को स्पष्टीकरण सोधेको हो ।
त्यसको भोलिपल्ट पत्रको बारेमा सभापति रवि लामिछानेलाई स्पष्टीकरण पठाउँदै उनले भनेका छन्, ‘मैले मिति २०८१।०४।२८ मा तपाई रवि लामिछाने, पार्टी सभापतिलाई सम्बोधन गरी ममाथि गरिएको भनिएको कारबाहीको कागजात प्रमाणहरूको प्रमाणित प्रतिलिपि उपलब्ध गरिपाऊँ भनी लेखिएको पत्र पार्टी कार्यालयमा दर्ता नगरी यसरी उल्टै स्पष्टीकरणको पत्र पठाउनु तपाई रवि लामिछानेले पार्टीमा विधि विधान विपरीत, थितिरहित हैकमे निरडूश शासन चलाइरहेको स्पष्ट हुन्छ।’
उनले आजसम्म लामिछानेसहित कुनै पनि नेतालाई झुटो आरोप नलगाएको भन्दै ती सबै सत्यमा आधारित रहेको जिकिर गरेका छन् ।
उनले लामिछानेमाथि नै केही प्रश्न समेत गरेका छन् । जसमा उनले सहकारी ठगी प्रकरण, पासपोर्टको विषय र गृहमन्त्रीका रुपमा गरेका कामकारबाहीको सवाल समेटिएको छ । साथै उनले आज रास्वपाको छवि, आफ्नो कारणले नभई लामिछानेको कारणले धुमिल हुँदै गएको पनि उनले जिकिर गरेका छन् ।
मुकुलको ३ प्रश्न जस्ताको तस्तैः
१) सहकारी ठगी मुद्दामा तपाई माथि पार्टीबाट स्वतन्त्र छानबिन समिति किन गठन नहुने तपाईँले आजको दिन सम्म आफ्नो कुनै गल्ती छैन, आफूमाथि छानबिन वा अनुसन्धान पनि हुन नसक्ने जिकिर गर्दै समग्र पार्टी र आम नेपाली जनतालाई पटक पटक ढाट्नु भएको छ। म स्वयंले पनि तपाईको ढाँटलाई सत्य मानेर बसिरहेको थिए तर असार २०, २०८१ गते न्यायाधीशहरू सपना प्रधान मल्ल र शारडा सुवेदीको सर्वोच्च अदालतको संयुक्त इजलासले तपाईँमाथि सहकारी ठगीसम्बन्धी छानबिन हुनुपर्ने फैसला गरिसकेको छ । सर्वोच्च अदालतको फैसलालाई तपाई मान्ने कि नमान्ने फैसला अनुसार पार्टीभित्र पनि अनुसन्धान गर्न दिने कि नदिने ? देशमा सुशासन ल्याउनका लागि खोलिएको पार्टीको सभापतिले आफू माथि लागेका आरोपको अनुसन्धान गर्न दिने हिम्मत राख्नुपर्छ । छानबिनका लागी तयार हुने ऑट छ रवि लामिछाने ज्यू ?
२) तपाईँले दुई वटा पासपोर्ट प्रयोग गरेको तथ्य बाहिरिइसकेको छ। आफ्नो अपराध लुकाउन कसरी राज्यका निकायलाई प्रयोग गर्नु भयो, घाम कै छर्लङ्ग यो विषय निकट भविष्यमा अदालतले व्याख्या गर्ने नै छ। विद्यमान ऐन कानुन अनुसार तपाई मन्त्री त के सांसद बन्न पनि अयोग्य ठहर हुन सक्नु हुन्छ। तपाईंले विगतमा गरेको अपराधका लागी पार्टी बलि चढ्नु पर्ने आँट छ भने, आफ्ना सबै पासपोर्टका सबै पानाहरू सार्वजनिक गर्नुहोस्। आँट छ? रवि लामिछाने ज्यू ?
३) नीतिगत काम मात्र गरिन्छ भनेर गृहमन्त्री बन्नु भएको तपाईँले गृह मन्त्रालय समाल्दा सरुवा बढुवा कुन नीतिमा रहेर गर्नु भयो, जनता र पार्टीका साचीहरूलाई स्पष्ट पार्नुहोस्। का.स.मु.मा अब्बल ठहरिएकालाई पछाडि पारेर सरुवा बढुवामा जुन चलखेल गर्न भयो, त्यो भ्रष्ट्राचारको सप्रेत होइन आंट छ भने मन्त्री हुँदा आफूले गरेका प्रत्येक निर्णय पार्टीको जान्नेलाई छान्ने नीति अन्तर्गत थियो भनेर प्रमाणित गर्नुहोस्, अमेरिकामा रहेका आफ्नै हितैषीहरूको वैड स्टेटमेन्ट सार्वजनिक गर्नुहोस्। ऑट छ, रवि लामिछाने ज्यू ?
उल्लिखित प्रश्न बाहेक पनि थुप्रै प्रश्नहरू बाँकी नै छन्। समीक्षा प्रतिवेदनमार्फत पनि कैयन प्रश्नहरू जनताले तपाईँलाई सोधेका छन् । जनताका यी सबै प्रश्नको जवाफ दिने ऑट गर्नुहोस्। आफूमाथि लागेका आरोपउपर निष्पक्ष स्वतन्त्र छानबिन समिति गठन गर्ने आँट गर्नुहोस् ।