१५ बैशाख २०८३, मंगलवार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भ्रष्टाचारको मुद्दामा हदम्याद लागू गर्न नहुने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद आफूलगायत आफ्नो पार्टीलाई मान्य नहुने बताएका हुन् ।
उनले भने, ‘हिजो साँझदेखि मेरो टेलिफोन कलमा लगभग २ हजार भन्दा बढी कलहरू आएका छन् , धेरैजसो युवाहरूले फोन गरेका छन् , उनीहरूको भनाई थियो की भ्रष्टाचारको मुद्दामा यो पाँच वर्षे हदम्याद लगाउन जुन खोजिएको छ, म आफ्नो तर्फबाट र आफ्नो दलको तर्फबाट सिंगो सदनलाई र देशलाई जानकारी गराउँछु की भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद मान्य हुने छैन, नो ईफ, नो बट हाम्रो कुरा क्लियर कट ।’


साथै उनले दलित अभियन्ता खगेन्द्र सुनारलाई प्रहरीले निषेधित क्षेत्र प्रवेश गर्न खोजेको भन्दै पक्राउ गरेको विषय सह्य नहुने बताए । उनले दलितहरूले आफ्नो हक माग्ने अधिकारलाई राज्यले दमन गर्न नहुने स्पष्ट पारे ।