नेकपा एसकाले चुनाव हार्दा कांग्रेस सभापतिमाथि कारबाही !

होमल्याण्ड खबर

२०८२ असार २६ गते, बिहीबार १६:४९ मा प्रकाशित

३ वर्षअघिको चुनावमा पार्टीका आधिकारिक र समर्थन गरेका उम्मेदवारलाई असहयोग गरेको कसुरमा कांग्रेसको अनुशासन समितिले कारबाहीको डण्डा चलाएको नेताहरूको सूचीमा खोटाङका सभापति विष्णु राई पनि परेका छन् । विष्णुमाथि एक वर्षसम्मको निष्कासनले अहिले खोटाङ कांग्रेसमा भाँडभैलो थपिएको छ ।

कोशी प्रदेश समितिका महामन्त्री तथा भौतिक पूर्वाधार तथा योजनामन्त्री भूपेन्द्र राईको दबाबमा सभापतिमाथि कारबाही गरिएको भन्दै विवाद चर्किएको हो ।

७९ को प्रदेशसभा चुनावमा खोटाङमा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एसको गठबन्धन थियो । संघतर्फ माओवादीका रामकुमार राई उम्मेदवार थिए । यस्तै खोटाङ १ (१) मा नेकपा एसका वीरबलकाजी राईलाई अघि सारियो ।

एमालेबाट पाँचकर्ण राई (पीके) राई उम्मेदवार भएका थिए । कांग्रेसकै धर्मराज पोखरेल बागी उठेका थिए । धर्मराज स्थानीय तहको चुनावताका राप्रपाबाट कांग्रेसमा भित्रिएका थिए । बागी उम्मेदवारलाई सहयोग गरेको कसुर सभापति राईमाथि छ ।

यहाँ गठबन्धनलाई हराएर एमालेका पाँचकर्ण राई १३ हजार १५७ मतसहित विजयी भए । नेकपा एसका वीरबल काजी ११ हजार ९५६ मत ल्याए । बागी उठेका धर्मराज पोखरेलले ३१४५ मत पाएका थिए ।

७९ को चुनावमा खोटाङ १ (२) बाट भूपेन्द्र राईले जितेका छन् । उनले नेकपा एमालेका रामप्रसाद दंगाललाई हराए । राईले १६ हजार ४९६ मत पाउँदा दंगाल १४ हजार ३४५ भोटमा रोकिएका थिए ।