शेखरको सक्रिय दौडधुपले सत्ता फेरबदलमा पुग्ला त सङ्ख्या ? (यस्ताे छ अंकगणित)

होमल्याण्ड खबर

२०८२ श्रावण ६ गते, सोमबार १०:४१ मा प्रकाशित

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको खुमलटारदेखि भंगालसम्मको दौडधुपले नयाँ सत्ता समीकरण बनाउने कसरत भइरहेको राजनीति वृत्तमा चर्चा छ । साउन १ गते पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डको निवास पुगेर कोइरालाले दुई घण्टा छलफल गरेका थिए ।

केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारविरुद्ध तीव्र निराशा पोखेका उनले नयाँ समीकरण बनाउन प्रचण्डसँग छलफल गरेको बुझिएको छ । प्रचण्डलाई भेटेको भोलिपल्ट कोइराला पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न बूढानीलकण्ठस्थित भंगाल पुगेका थिए । भण्डारी २१ दिनअघि मात्र एमालेको सक्रिय राजनीतिमा फर्किएकी थिइन् ।

शेखर कोइरालासँगै प्रचण्ड निवास पुगेका डा. अमरेशकुमार सिंहले कोइरालालाई प्रधानमन्त्री बनाउने गरी नयाँ समीकरण बन्ने दाबी गरेका छन् । दुई तिहाइको ओली सरकारले केही पनि काम गर्न नसकेकाले नयाँ समीकरण बनाउन विपक्षी दलहरूसँग छलफल भइरहेको सिंहले जिकिर गरे । तर सिंहले दाबी गरेजस्तै विपक्षी दलहरूसँग मिलेर कोइराला प्रधानमन्त्री बन्न सम्भव छ ?

विश्लेषक तथा प्राध्यापक लोकराज बराल कोइरालाले नयाँ गठबन्धन बनाउने सम्भावना नरहेको बताउँछन् । अर्को समीकरण बनाउन शेखरले संविधान बमोजिम कोरम पुर्‍याएर पार्टी विभाजन गर्नुपर्ने हुन्छ । तर त्यो सम्भव नभएको बराल बताउँछन् । देउवासँग बार्गेनिङ गर्न मात्र कोइरालाले धम्क्याएको उनको विश्लेषण छ ।

‘शेखरले नयाँ समीकरण बनाउन पार्टी विभाजन गर्नुपर्ने हुन्छ । त्यो गर्लान् जस्तो मलाई लाग्दैन । दलको नेताबाट शेरबहादुरजीलाई हटाउन पनि संसदीय दलमा उहाँसँग बहुमत छैन,’ बरालले भने, ‘त्यसकारण यी सबै गतिविधि पार्टीभित्र बार्गेनिङ गर्न मात्र गठबन्धन बनाउने गतिविधि गरेका हुन सक्छन् । विपक्षी दलहरूसँग मिलेको जस्तो गरेर पार्टीभित्र फाइदा लिन यी सब गतिविधि गरेका छन् ।’

बरालले भनेजस्तै कोइराला प्रधानमन्त्री बन्न पहिला संसदीय दलको नेता बन्नुपर्ने हुन्छ । त्यसका लागि कांग्रेसभित्रै बहुमत सांसद आफ्नो पक्षमा ल्याउन निकै कठिन देखिन्छ । २०७९ पुस ६ गते कांग्रेस संसदीय दलको नेता चयनका वेला सभापति देउवासँग महामन्त्री गगन थापाले प्रतिस्पर्धा गरेका थिए । त्यतिवेला थापालाई कोइराला समूहले समेत साथ दिएको बुझिएको थियो । तर मतदान हुँदा थापाले जम्मा २५ मत प्राप्त गरे । कांग्रेसका ८९ सांसदमध्ये ६४ मत ल्याएर देउवा विजयी भए । यद्यपि कोइराला पक्षकै ६ सांसदले मत नहालेको आरोप लागेको छ ।

कति छन् सांसद ?

कोइराला-थापा समूहका ३१ जना सांसदलाई आधार मान्दा उनले बहुमतका लागि थप १०७ सांसदको समर्थन प्राप्त गर्नुपर्ने हुन्छ । अहिले विपक्षी दलहरू नेकपा माओवादी केन्द्रसँग ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग २०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग १२, एकीकृत नेकपा समाजवादीसँग ९, जसपा नेपालसँग ५, नाउपासँग ४ सांसद छन् । यसैगरी आम जनता पार्टी (आजपा), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर पार्टी (नेमकिपा)सँग १/१ गरी ३ र स्वतन्त्रसँग २ सांसद छन् ।

यी सबै दलको समर्थन पाउँदा पनि ११८ मत पुग्नेछ । यसमा जनमत पार्टीको ६ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को ४ जना सांसदको समर्थन प्राप्त गरे कुल १२८ सांसद पुग्नेछन् । विभिन्न समयमा निलम्बनमा परेका चार जना र सभामुख मतदान पक्रियामा भाग लिन पाउँदैनन् ।