आज ४३औँ बिपी स्मृति दिवस मनाइँदै

होमल्याण्ड खबर

२०८२ श्रावण ७ गते, मंगलवार १०:१२ मा प्रकाशित

प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४३औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो ।

उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पु¥याएका छन् । कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते भएको हो । विसं २०१५ को संसदीय निर्वाचनपछि विसं २०१६ जेठमा उनी पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् ।

उनका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाई’ र ‘बाबु, आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन् । उनका दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’ प्रकाशित छन् । वरिष्ठ अधिवक्ता स्व गणेशराज शर्मासँगको वार्तामा आधारित ‘आत्मवृत्तान्त, सुन्दरीजल बन्दी गृहमा बस्दाको दैनिकीमा आधारित ‘जेल जर्नल’, विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिइ स्वदेश फर्केपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सिधैँ सुन्दरीजल बन्दीगृहमा लगिएपछि लेखिएको दैनिकी ‘फेरि सुन्दरीजल’ नेपालको तत्कालीन राजनीतिक अवस्थाको यथार्थ चित्रण गरेको छ ।

ज्ञाननिष्ठ ज्ञवालीको सम्पादनमा प्रकाशित सिसार पत्रिकामा ‘साहित्यमा प्रगतिशीलता’ विषयक कोइरालाको निबन्धलगायत रचना पनि प्रकाशित छन् । जीवनको लामो समयसम्म कांग्रेसको नेतृत्व गरी २०१५ सालको आमनिर्वाचनमा पार्टीले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरे।

प्रधानमन्त्रीत्वकालमा उनले बिर्ता उन्मूलन र ‘जग्गा जोत्नेको हुनुपर्छ’भन्ने भूमिसुधार कार्यक्रम अगाडि बढाए । विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्त गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो ।