पूर्वराष्ट्रपतिलाई अहिलेकै सम्मानित स्थानमा राख्नुपर्छ : पदम गिरी

होमल्याण्ड खबर

२०८२ श्रावण ७ गते, मंगलवार १०:५२ मा प्रकाशित

 नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा आफ्नो धारणा राख्ने क्रममा पूर्व कानून मन्त्री समेत रहेका केन्द्रीय सदस्य पदम गिरीले राष्ट्रपति भइसकेका व्यक्तिले पार्टीको राजनीतिमा फर्किने कुरा परिकल्पना नगरिएको बताएका छन् ।

गिरीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण र एमालेको राजनीतिमा पुनः क्रियाशील हुने घोषणा व्यक्तिगत लहडमा नहुने भन्दै पार्टीले संस्थागत निर्णय गर्नुपर्ने बताएका हुन् ।

उनले भण्डारीलाई पार्टीले निर्णय गरेरै रोक्नुपर्ने र सम्मानित स्थानमा राख्नुपर्ने बताए । बैठकमा गिरीले नेकपाको महाविपत्ति र २०७९ को महागठबन्धनसँग लडेर केपी शर्मा ओलीकै नेतृत्वमा एमाले लोकप्रिय मतको पहिलो बनेको भन्दै मिसन ८४ को लागि ओलीकै नेतृत्वमा पार्टी एकताबद्ध भएर जानुको विकल्प नरहेको बताए ।

उनले अहिले पार्टीमा यो वा त्यो धुरी बनाउन भन्दा केन्द्रीकृत नेतृत्वमा अघि बढ्न आह्वान गर्नुपर्ने बताए ।