सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउन सरकार संवेदनशील : प्रधानमन्त्री

होमल्याण्ड खबर

२०८२ श्रावण ८ गते, बुधबार १६:३५ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले पीडितलाई न्याय दिनेगरी सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउने विषयमा सरकार जिम्मेवार र संवेदनशील रहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले राखेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामहरू सम्पन्न गरी शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको स्पष्ट गरे ।
संविधानले निर्देशन गरे बमोजिम सहिदहरू, बेपत्ता एवं द्वन्द्वपीडितको योगदान र बलिदानलाई सम्मान र कदर गर्ने विषयमा सरकार दृढ रहेको उल्लेख गर्दै उनले शान्ति प्रक्रियालाई यथासक्य छिटो टुङ्गोमा पुर्‍याउने लक्ष्यका साथ काम अघि बढिरहेको बताए ।

‘पीडितलाई न्याय दिने विषयमा सरकार अत्यन्त जिम्मेवार र संवेदनशील छ । द्वन्द्वपीडितसँग हामी विभिन्न तहमा निरन्तर छलफलमै छौं । शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने विषय सबैको उत्तिकै चासो र सरोकार भएको विषय हो,’ प्रधानमन्त्री ओलीले भने, ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को व्यवस्था बमोजिम नै आयोगहरू गठन भई कार्य प्रारम्भ भएको छ । मलाई विश्वास छ, आगामी दिनमा आयोगका पदाधिकारीहरूले पीडित पक्षसँग बसेर, आपसमा छलफल गरेर नै शान्ति प्रक्रियाका बाँकी कामहरू अगाडि बढाउनु हुनेछ ।’