२४ फाल्गुन २०८२, आईतवार
परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपाल र थाइल्याण्डका बीचमा कैयौँ सांस्कृतिक समानता रहेको बताएकी छन् । शुक्रबार ‘थाइ फ्लेभर्स् इन द हिमालज्’ ट्रेड फेयरको उद्घाटन गर्दै उनले नेपाल र थाइल्याण्डबीच ऐतिहासिक सम्बन्ध रही आएको र दुई देशबीचमा सांस्कृतिक लगायतका धेरै क्षेत्रमा समानता रहेका बताएकी हुन् ।
मन्त्री डा.राणाले दुई देशका बीचमा पाहुनाहरुको स्वागत, बहुधार्मिक र बहुसांस्कृतिक मूल्यमान्यताहरुको सम्मान तथा सहिष्णुता तथा पर्यटन र यसमार्फत् प्राप्त गर्न सकिने समिृद्धिलगायतका समानताहरु रहेका चर्चा गरिन् । पर्यटन दुई देशका बीचको साझा समृद्धि एवं सहकार्यको क्षेत्र हुनसक्ने स्पष्ट गर्दै मन्त्री डा.राणाले नेपालमा पनि पर्यटनको अथाह सम्भावना रहेकाले पर्यटन एवं हस्पिटालिटीका क्षेत्रमा लगानी गर्न थाई लगानीकर्ताहरुलाई आग्रह गरिन् ।


नेपाल उद्यमशिलताका क्षेत्रमा अघि बढिरहेको र हस्तकला लगायतका कैयौँ वस्तुको उत्पादन विश्व बजारको आकर्षण पनि बनेको भन्दै उनले नेपालमा लगानी गर्न थाई उद्योगी व्यवसायीहरुलाई आग्रह गरिन् । नेपाल र थाइल्याण्ड कहिल्यै पनि कुनै उपनिवेशमा नरहेका स्वतन्त्र र स्वाधीन राष्ट्र रहेका प्रसंग उल्लेख गर्दै मन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीले हालै थाइल्याण्डको भ्रमण गरेको र त्यस क्रममा सरकारी तथा निजी क्षेत्रमा सहमति र समझ्दारीहरु भएको स्मरण गराइन् ।
सो भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनेको र आगामी दिनमा यस प्रकारका उच्चस्तरीय भ्रमणहरुलाई निरन्तरता दिनुपर्ने पनि उनले बताइन् ।