२४ फाल्गुन २०८२, आईतवार
नेपाली कांग्रेसकी राष्ट्रिय सभा सांसद कमला पन्तले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध महाभियोग लगाउनुपर्ने माग गरेकी छन् ।
आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले वाइडबडी जहाज खरिद प्रकरणको विशेष अदालतको फैसलाले राईको भूमिकामाथि प्रश्न उठाएको उल्लेख गरिन् ।


अदालतले राईमाथि ‘चयनमुखी अभियोजन’ को आरोप लगाएको थियो । पन्तले राज्यका प्रमुख अङ्गहरूप्रति जनविश्वास घट्दै गएको र राजनीतिक दलहरूबीच अविश्वास बढेको बताउँदै सरकारले यसबारे गम्भीर हुनुपर्ने धारणा राखिन् ।
उनले राईले राजीनामा दिएर अनुसन्धानको बाटो खोल्नुपर्ने वा सरकारले जवाफ दिनुपर्ने बताइन् । ‘नत्र संसद्ले महाभियोग लगाउनुपर्छ,’ उनले भनिन्, ‘संविधानको धारा १०१ मा महाभियोगको व्यवस्था छ, हामी बोल्नुपर्छ ।’
यसैगरी, उनले घुस प्रकरणमा जोडिएका मन्त्रीहरू खुलेआम हिँडिरहेको भन्दै सरकारको जबाफदेहितामाथि प्रश्न उठाइन् ।