२६ फाल्गुन २०८२, मंगलवार
सप्तरीको राजविराजमा स्थानीयले प्रदर्शन जारी राखेका छन् । मदिरा तस्करी नियन्त्रण गर्ने क्रममा गएराति प्रहरीले चलाएको गोली लागेर सप्तरी राजगड गाउँपालिका–२ कमलपुरका ३६ वर्षीय लालु यादवको मृत्यु भएको थियो ।
सोही घटनाको छानबिन हुनुपर्ने माग राख्दै स्थानीयले प्रदर्शन थालेको हुन् । भारतीय सीमानजिकबाट ठूलो मात्रामा मदिरा भण्डार गरी तस्करी भइरहेको सूचनाका अधारमा ‘सर्च अप्रेसन’ चलाउँदा स्थानीय र प्रहरीबीच झडप भएको थियो ।


प्रहरीलाई घेरा हालेर ढुंगामुढा गर्न थालेपछि आत्मरक्षाका लागि गोली चलाउनु परेको प्रहरी सप्तरीका नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतको दाबी छ । तर, स्थानीयले भने घटनाको निष्पक्ष छानबिनको माग गर्दै राजविराजमा प्रदर्शन थालेका छन् ।
प्रदर्शनकारीले टायर बालेर प्रदर्शन जारी राखेका छन् । प्रदर्शनले उग्ररुप लिने जोखिम बढेपछि मधेस प्रदेश प्रहरीले ठूलो मात्रामा प्रहरी परिचालन गरेको छ ।