उत्तराखण्डमा बेपत्ता नेपालीको खोजी र उद्धार गर्न परराष्ट्रमन्त्रीको निर्देशन

होमल्याण्ड खबर

२०८२ श्रावण २४ गते, शुक्रबार ११:०८ मा प्रकाशित

परराष्ट्र मन्त्री आरजु देउवा राणाले भारतको उत्तराखण्डमा बाढी पहिरोमा परेर बेपत्ता नेपालीको खोजी तथा उद्धारका लागि कूटनीतिक पहल थालेको बताएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत शुक्रबार बिहान मन्त्री राणाले छिमेकी राष्ट्र भारतको उत्तराखण्डमा केही दिनअघिको बाढीमा परी केही नेपाली नागरिक पनि बेपत्ता भएको खबरले निकै दुःख लागेको समेत बताएकी छन् ।

‘उहाँहरूको खोजी र उद्धारका लागि नेपाल सरकारले कूटनीतिक पहल सुरु गरिसकेको छ । नयाँ दिल्लीस्थित नेपाली राजदूतावासलाई हराएका नेपाली नागरिकहरूको खोजी तथा उद्धारका लागि भारत सरकारसँग समन्वय गरी तदारुकताका साथ लाग्न निर्देशन दिएकी छु’, मन्त्री राणाको भनाइ छ ।

उनले बाढी पहिरोमा ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पीडाको यस घडीमा रहेका परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेकी छन् ।