२४ फाल्गुन २०८२, आईतवार
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालबिच भेटवार्ता भएको छ । शनिबार दुई नेताबिच भेटवार्ता भएको हो । सम्मानित नेता खनालले अध्यक्ष नेपालसँग भेट हुनु नै ठुलो उपलब्धि भएको प्रतिक्रिया दिएका छन् ।
केही दिनयता दुई नेताले एकअर्कालाई पार्टीबाट राजीनामा दिन चुनौती दिन थालेपपिछि पार्टीका अन्य नेताहरूले अध्यक्ष नेपाल र खनाललाई शनिबार भेटवार्ता गराएका थिए ।


नेताहरू राजेन्द्र पाण्डे, प्रमेश हमाल र घनश्याम भुसालले अध्यक्ष नेपाल र सम्मानित नेता खनाललाई पार्टी कार्यालय आलोकनगरमा भेटवार्ता गराएका हुन् । दुई नेताको भेटवार्तापछि समस्या समाधान हुने अपेक्षा नेताहरूले गरेपनि शनिबारको भेटमा समस्या समाधानबारे विषय प्रवेश र छलफल नै नभएको नेता खनालले बताए ।
‘हिजो सामान्य भेटघाटमात्र भयो । मैले जिज्ञासा राखेँ, उहाँले आफ्नो कुरा अलि लामो भन्नुभयो । तर आजका समस्याका बारेमा केन्द्रित हुनुभएन । त्यसो गर्दागर्दै ४० मिनेट बितिगयो’, खनालले भने, ‘त्यसपछि जनकपुर जान हतार भयो भनेर उहाँ हिँड्नुभयो ।
फेरि बसेर छलफल गर्ने कुरा भए । नेता खनालले सबैभन्दा ठुलो उपलब्धि नै अध्यक्षसँग भेट गर्नु रहेको भन्दै व्यङ्ग्य गरे । ‘सारै ठुलो उपलब्धि भनेको हिजो उहाँसँग भेट भयो’, खनालले भने,‘ छलफल गर्दै जाऔँ र कुराहरू प्रस्ट पार्दै जाऔँ भन्ने पनि आशय व्यक्त भएको छ ।
तर उहाँका आफ्ना कुराहरू पनि भएकाले छलफल नगरी यस्तो भयो भन्नै सकिँदैन ।’नेपालपछि खनालले शनिबार अर्का नेता बामदेव गौतमसँग निवासमै भेटवार्ता गरेका थिए । गौतमसँगको भेटमा पुराना कुराहरू स्मरण गरेको खनालले बताए ।