भैरहवा कारागारको रवि बस्ने कोठामा एसी भएको हल्ला झुटो : मानवअधिकार आयोग

होमल्याण्ड खबर

२०८२ श्रावण २७ गते, सोमबार १५:२९ मा प्रकाशित

सुप्रिम सहकारी प्रकरणमा रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विशेष सुविधा र एसी प्रयोग गरिरहेको हल्लालाई राष्ट्रिय मानवअधिकार आयोगको अनुगमनले खण्डन गरेको छ।

आयोगले सोमबार कारागारमै पुगेर गरेको स्थलगत अनुगमनमा लामिछानेको कोठामा एसी नभई पङ्खा मात्रै रहेको पाइएको हो।

पछिल्लो समय केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा लामिछानेले कारागारभित्र विलासी सुविधा भोग गरिरहेको र उनको कोठामा एसी जडान गरिएको समाचार प्रकाशित भएका थिए ।

यही हल्लाका बीच आयोगकी आयुक्त लीली थापा नेतृत्वको टोलीले कारागारमै पुगेर उनको अवस्थाबारे जानकारी लिएको थियो । अनुगमनपछि आयुक्त थापाले हल्लामा कुनै सत्यता नभएको स्पष्ट पारिन् ।

उनले भनिन् ‘उहाँलाई राखिएको ब्लकमा हावा पास हुने राम्रो अवस्था छैन, तर कोठामा पंखा भने रहेछ, बाहिर आएजस्तो एसी भएको कुरा सत्य होइन ।’

आयोगको यो अनुगमनले लामिछानेबारे चलेको हल्लालाई मात्र चिरेको छैन, उनको रोकिएको सरुवा र कारागारको समग्र दयनीय अवस्थाप्रति पनि गम्भीर चासो देखाएको छ।

अदालतले अनुमति दिइसक्दा पनि काठमाडौं सरुवा रोकिएको विषयलाई आयोगले ‘गम्भीर’ भनेको छ।

‘सरूवाका लागि निवेदन दिएर अदालतले पनि अनुमति दिए पनि सरुवा गरिएको रहेनछ। के कारणले सरुवा गरिएन। यो गम्भीर विषय हो’, उनले भनिन्।

साथै, क्षमताभन्दा बढी कैदीबन्दी र शौचालयजस्ता आधारभूत सुविधाको अभावले कारागारको मानवअधिकार अवस्था चिन्ताजनक रहेको पनि आयोगको निष्कर्ष छ।