नेपालगन्ज–नयाँ दिल्ली सिधा हवाई उडानका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण

होमल्याण्ड खबर

२०८२ श्रावण २७ गते, सोमबार १५:४८ मा प्रकाशित

बाँके र बर्दियाका जनप्रतिनिधि र व्यवसायीले नेपालगन्ज–नयाँ दिल्ली सिधा हवाई उडानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरूले पश्चिम नेपालका ३२ जिल्लाको हवाई सुविधा र व्यावसायिक वृद्धिका लागि नेपालगन्ज–नयाँ दिल्ली सिधा हवाई सेवा सञ्चालनको माग गरेका हुन् । त्यसक्रममा उनीहरूले प्रधानमन्त्रीलाई नेपालगन्ज विमानस्थलमा आवश्यक पूर्वाधार विकास भइसकेको बताएका थिए ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीले प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका थिए ।

जवाफमा प्रधानमन्त्री ओलीले आफू यसका लागि सकारात्मक रहेको र भारत सरकारसँग छलफल गरिने आश्वासन दिए । उनले नेपालगन्ज विमानस्थलको धावनमार्ग थप विस्तार र जमिन संरक्षणलगायत काममा पनि चासो दिन पनि आग्रह गरे ।