त्रिवि सुरक्षाका लागि प्रहरी तैनाथ, विद्यार्थीलाई दिइयो ‘बटमलाइन’

होमल्याण्ड खबर

२०८२ श्रावण २९ गते, बुधबार १३:०१ मा प्रकाशित

त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा प्रहरी तैनाथ गरिएको छ । विद्यार्थी संगठनहरूको तोडफोडका कारण असुरक्षा बढेको र दैनिक कार्यमा असर परेको भन्दै उपकुलपति दीपक अर्यालसहितले सरकारसँग सुरक्षा माग गरेपछि प्रहरी तैनाथ भएको हो ।

अखिल क्रान्तिकारी संवद्ध विद्यार्थीले सोमबार (साउन २६) रजिस्ट्रार र रेक्टर कार्यालयमा तोडफोड गरेका थिए । त्यसक्रममा विद्यार्थी र प्रहरीबीच झडप हुँदा केही विद्यार्थी घाइते भएका थिए ।

उपकुलपति अर्यालको कार्यकक्षबाहिर २१ दिनयता केही विद्यार्थी अनशन बसेका थिए । कार्यालयमा असुरक्षा बढेपछि अर्यालले काम गर्न पाएका थिएनन् ।

नौ महिना पहिले सामाजिक कार्य, अन्तर्राष्ट्रिय सम्बन्ध, द्वन्द्व र शान्ति, लैंगिकतासम्बन्धी अध्ययन केन्द्रीय विभागमा गाभिएको थियो । त्यसपछि सो कार्यक्रमको शुल्क घटाउनुपर्ने माग राख्दै आएका थिए ।