जस पाउन प्रदेश र स्थानीय तहबीच प्रतिश्पर्धा

होमल्याण्ड खबर

२०७५ पुष ६ गते, शुक्रबार ११:४६ मा प्रकाशित

भेरी किनारको बस्ती भएपनि खानेपानीको चर्को समस्या भोग्दै आएका धोरेनीका ८५ घरधूरीका लागि गुर्भाकोट नगरपालिकाले अघिल्लो आर्थिक वर्ष खानेपानीको सर्भे डिजाइन ग(यो। गुर्भाकोट–१४ को लिसेबाट गुर्भाकोट–१३ धोरेनीसम्म खानेपानी ल्याउन र घरघरमा वितरण गर्न ९२ लाख ३६ हजार रुपैयाँ खर्च लाग्ने सर्भे डिजाइनले देखायो।

नगरपालिकाले चालु आर्थिक वर्षका लागि २६ लाख रुपैयाँ आयोजनाका लागि छुट्यायो। स्थानीयले लिसे खानेपानी आयोजनाका नामबाट उपभोक्ता समिति गठन गरे। पहिलो किस्ताबापत आठ लाख ५६ हजार रुपैयाँ नगरपालिकाले उपभोक्ता समूहलाई दियो। समितिले मुहानदेखि धोरेनीसम्मका लागि पाइप खरिद गरेर काम सुरु भयो।

गत साता यही क्षेत्रबाट निर्वाचित प्रदेशसभा सांसद ठम्मरबहादुर विष्ट सोही ठाउँ पुगे। उनको निर्देशनमा प्रदेश सरकारले छुट्याएको ६० लाख रुपैयाँबाट खानेपानी आयोजना निर्माण गर्ने भन्दै पुनः सर्भेको प्रक्रिया सुरु गरियो। छुट्टै उपभोक्ता समितिसमेत गठन गरियो। यो घटनाले दुई वटा कुरालाई देखाएको छ। एउटा हो, स्थानीय र प्रदेश सरकारबीच आयोजना लिन कसरी हानथाप भइरहेको छ भन्ने । अर्को, लापरबाही रुपमा एउटै आयोजनामा कसरी दुई–दुई वटा बजेट पारिन्छ भन्ने।

आयोजना बनाउन दुई निकायको तदारुकताले स्थानीयहरु आयोजना नै नबन्ने हो कि भन्ने चिन्तामा परेका छन्। ‘नगरपालिकासँग समन्वय गरेर काम गरेको भए चालु आर्थिक वर्षभित्रै सबैका घरघरमा पानीको धारा पुग्ने थियो, वर्षौंदेखि हामीले भोग्दै आएको खानेपानीको समस्या समाधान हुन्थ्यो,’ एक स्थानीयले भने ।