२६ फाल्गुन २०८२, मंगलवार
रेसुंगा नगरपालिकाले गुल्मी अस्पतालका ६ जना विशेषज्ञ डक्टरलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ ।
अस्पतालमा विशेषज्ञ सेवाको निरन्तरता र टिकाउ बनाउने उद्देश्यले नगरपालिकाले यस्तो कार्यक्रम ल्याएको हो ।


सोमबार नगरपालिकाको कार्यकक्षमा आयोजित कार्यक्रममा नगर प्रमुख खिलध्वज पन्थीले अस्पतालका डक्टरहरूसँग प्रोत्साहन भत्ता उपलब्ध गराउनेबारे सम्झौता गरेका छन् ।
नगरपालिकाले डक्टरहरूले नेपाल सरकारबाट पाउने तलब बराबरकै प्रोत्साहन भत्ता दिने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।
यसअघि हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डक्टरलाई मात्र प्रोत्साहन दिँदै आएको नगरपालिकाले अबदेखि सबै विशेषज्ञ डक्टरलाई सुविधा उपलब्ध गराउने भएको हो । यसका लागि नगरपालिकाले ४० लाख रुपैयाँ खर्च गर्ने जनाएको छ ।
प्रोत्साहन भत्ता पाउने विशेषज्ञ डक्टरमा अस्पताल प्रमुख तथा आन्तरिक चिकित्सा विशेषज्ञ डा. विभव बस्याल, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. प्रदीप शिवाकोटी, सामान्य तथा आकस्मिक चिकित्सक विशेषज्ञ डा. अर्जुन केसी, आन्तरिक चिकित्सा विशेषज्ञ डा. सुरेन्द्र केसी, बालरोग विशेषज्ञ डा. प्रज्ञा शाख्य र स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. शोफिष थापा रहेका छन् ।
हाल गुल्मी अस्पतालमा ६ जना विशेषज्ञ डक्टरसहित १८ जना मेडिकल अधिकृत कार्यरत छन् ।