अबको राजनीति जबाफदेही र पारदर्शीतामा टेकेर हुनुपर्छ : सुनिता डंगोल

होमल्याण्ड खबर

२०८२ आश्विन २ गते, बिहीबार १०:५५ मा प्रकाशित

काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोलले अबको राजनीति ढाकछोप र बहानामा नभएर जबाफदेही र पादरर्शीतामा टेकेर चल्नुपर्ने बताएकी छन् ।

जेन जी पुस्ताले सुरु गरेको भ्रष्टाचारविरुद्ध सुशासन र समृद्धिको आन्दोलन आक्रोश मात्रै नभएर परिवर्तनको माग पनि भएको उनको भनाई छ ।

सामाजिक सञ्जालमार्फत डंगोलले जेनजी आन्दोलन ज्यान गुमाउनेका परिवारमा समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेकी छन् ।

उनले भनेकी छन्, ‘राष्ट्र शोकमा डुबेको छ। असंख्य परिवारले आफ्ना सन्तान गुमाइसकेका छन्। शोकमा रहनुभएका परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। ती परिवारका पीडा र थोपाथोपा आँसुहरूको मूल्य चुकाउन जो कोही दोषी भए पनि कानूनी कारबाहीको दायरामा आउनुपर्छ।’

उनले आन्दोलनको क्रममा भएको जनधनको क्षति, हत्या र तोडफोडबारे निष्पक्ष सत्यतथ्य पत्ता लगाउन छानबिन गर्न आवश्यक रहेको पनि बताएकी छन् ।

उनले भनेकी छन्, ‘सहिदको रगतले लेखेको इतिहासलाई हामीले बिर्सन सक्दैनौँ। बलिदान खेर नजाओस्। बिग्रेकोलाई बनाउने, बनेकोलाई मजबुत बनाउने हाम्रो जिम्मेवारी हो। अबको राजनीति ढाकछोप र बहानामा होइन, जबाफदेही र पारदर्शितामा टेकेर अघि बढ्नुपर्छ। दलहरूले पनि विगतमा भएका आफ्ना कमजोरीलाई सुधार गर्दै अघि बढ्नुको अर्को विकल्प छैन ।’

यस्तै डंगोलले सहिदहरूको बलिदानलाई न्याय दिन पुनर्निर्माणमा जुट्न सबैको दायित्व भएकाले एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको पनि बताएकी छन् ।