कलङ्की अन्डरपास हस्तान्तरण नहँुदै बन्यो पिसावखाना

होमल्याण्ड खबर

२०७५ पुष ८ गते, आईतवार ११:४९ मा प्रकाशित

औपचारिक हस्तान्तरण नहँुदै सञ्चालनमा आएको थियो कलङ्की अन्डरपास । चक्रपथ सुधार परियोजनाले गौरबको रुपमा लिने गरेको कलङ्की अन्डरपास अहिले यातायात मजदुरको पिसाब फेर्ने उपयूक्त ठाँउ बनेको छ । चक्रपथमा गुड्ने बस मिनीबस तथा माइक्रो बसका मजदुरहरु सार्वजनिक शौचालयको अभावका कारण कलङ्की अन्डरपास नै उपयूक्त भएको बताउँछन् ।

अन्डरपासभित्र गोेप्य मात्र होइन अति गोप्य ठान्छन् उनीहरु । चारैतिरबाट गोप्य छ । “अझ पाचै तिरबाट भन्नुस न, आकाशबाट पनि देखिदैन ।” एक चालकले भने ।
अन्डरपास निर्माणकै क्रममा यस आसपासका दुई शौचालय भत्काइएको थियो । अहिले त्यसको विकल्पमा मजदुरहरु समस्यामा परेक हुन् ।
सुरक्षाकर्मीको आँखाबाट जोगिदै पिसाव फेर्ने गरेको ती चालक बताउँछन् ।

कोटेश्वर–कलङ्की चक्रपथ खण्डको सडक निर्माण सम्पन्न भएपनि सरकारलाई कहिले हस्तान्तरण गर्ने भन्ने अझै टुङ्गो लागेको छैन ।

सडक निर्माणका लागि आएको चिनियाँ टोली चीन फर्किसके पनि हस्तान्तरणको टुङ्गो नलागेको सडक निर्माणमा समन्वय गरिरहेको काठमाडौँ चक्रपथ सुधार योजनाले बताएको छ ।

सडक निर्माणको काम तोकिएको समयमा सकिएको योजनामा कार्यरत इञ्जिनियर नीरञ्जन शर्मा अर्यालले बताए । चीन सरकारको सहयोगमा निर्माण भएको सडकको ठेक्का सङ्घाई निर्माण सेवा समूहले लिएको थियो । पछिल्लो पटक थप भएको म्याद (१५ डिसेम्बर)मा काम सकिएको समूहले जनाएको छ ।

चार वर्ष पहिले ४० महिनामा काम सक्ने गरी ठेक्का सम्झौता भएको थियो । विसं २०७२ को भूकम्प र त्यसपछिको नाकाबन्दीले गर्दा एकवर्ष काम ठप्प भएको थियो ।

सरकारले पछिल्लो पटक एक वर्ष थपेपछि थपिएको अवधिमा काम सकिएको हो । ठेकेदार कम्पनीले लिएको जिम्मेवारी पूरा गरेर फर्किसक्यो जनाउदै “औपचारिक रुपमा हस्तान्तरणको टुङ्गो लाग्न बाँकी छ ।” इञ्जिनियर नीरञ्जन शर्मा अर्यालले बताए ।

नेपालको पहिलो आठ लेन सडक र पहिलो पटक ‘अण्डर पास’ सडक भएकाले यसलाई चासोका साथ हेरिएको थियो । सडकको निर्माण र त्यसपछि सडक चिन्ह गरेर ठेकेदार कम्पनीले तोकिएको जिम्मेवारी पूरा गरिसकेको इन्जिनियर शर्माले जनाए ।

सडक निर्माण सम्पन्न हुनासाथ चिनियाँ सरकारले नै कलङ्कीबाट महाराजगञ्जसम्मको सडक निर्माणमा चासो देखाएको छ । यो खण्डको सडक विभागले विस्तृत परियोजना अध्ययन गरिसकेको छ ।