तुइन खोलामा फसेका यात्रुलाई नि:शुल्क बस सेवा

होमल्याण्ड खबर

२०८२ आश्विन ९ गते, बिहीबार १४:५७ मा प्रकाशित

चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत तुइन खोलामा पहिरोमा फसेका यात्रुलाई गन्तव्यसम्म पुराउनका लागि निःशुल्क बस सेवा थालिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले तुइन खोला नजिकैको पाँच किलो भन्ने स्थानबाट नारायणगढसम्म निशुल्क घुम्ती बस सञ्चालन गरेको प्रहरी निरीक्षक दिपक रिजालले जानकारी दिए ।

तनहुँतर्फको बाटो हुँदै पाँच किलोको पुलसम्म पुगेका यात्रुहरूलाई लक्षित गरेर बससेवा सञ्चालनमा ल्याइएको हो । अलपत्रमा परेका चालक तथा यात्रुलाई जिल्ला प्रशासन कार्यालय चितवनको समन्वयमा खाधान्न र प्राथमिक उपचार उपलब्ध गराउने कार्य गरिरहेको उनले बताए।

पहिरो पन्छाउनका लागि नारायणगढतर्फबाट तीनवटा र मुग्लिनतर्फबाट दुईवटा मेसिन परिचालन गरिएको रिजालले जानकारी दिए। मुग्लिन नारायणघाट सडक खण्डको तुईन खोला पुल नजिकै मंगलबार अपरान्ह गएको ठूलो पहिरोका कारण सडक आवागमन पूर्णरूपमा बन्द छ ।