२३ फाल्गुन २०८२, शनिबार
रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टी नेपाल दर्ता प्रक्रिया सुरु गरेका छन् ।
उनले दर्ताका लागि चाहिने कागजात तयार गरिरहेका छन् । उनी आइतबार निर्वाचन आयोगमा पार्टी दर्ताका लागि निवेदन दिने तयारीमा रहेको बताइएको छ ।


रेशम चौधरी भन्छन्, ‘तयारीमा लागेको छु, सम्भवतः आइतबार निर्वाचन आयोगमा गएर निवेदन दर्ता गराउँछु ।’
कसको नेतृत्वमा पार्टी दर्ता भइरहेको छ भनी जिज्ञासामा नेतृत्वकर्ताको नाम खुलाउन चाहेनन् । उनले भने, ‘को अध्यक्ष हुने, को के हुने त्यतातिर नजाऔँ ।
दर्ता भएपछि सबै कुरा बाहिर आइहाल्छन्, म आजलाई यति भन्छु– नागरिक उन्मुक्ति पार्टी नेपाललाई मेरा परिवारका सदस्यबाहेकका कसैले नेतृत्व गर्छ ।’
संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी छाडेर रेमश चौधरीले नागरिक उन्मुक्ति पार्टी नेपाल गठन गर्नका थालेका हुन् । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा उनकै श्रीमती रञ्जिता श्रेष्ठ रहेकी छिन् ।
दुवै जना बिच आन्तरिक विवाद उत्पन्न भएपछि चौधरीले पार्टी छाडेर अर्को पार्टी गठन गर्न लागेका हुुन् ।
भौगोलिक सांस्कृतिक, पहिचानसहितको सङ्घीयता र समुदायमा आधारित समाजवादका लागि गठन भएको नागरिक उन्मुक्ति पार्टीले आफ्नो विचारधारालाई समाजमा स्थापित गर्न नसकेको बताउँदै उनले यसमा दोषीमध्येको आफू पनि एक रहेको बताएका छन् ।
उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नका लागि थुप्रै लडाइँ लडेको भन्दै अब नयाँ ढङ्गबाट लड्नका लागि नागरिक उन्मुक्ति पार्टी नेपाल गठन गर्न लागेको बताए ।