पूर्वसभामुख महराविरुद्ध काठमाण्डु जिल्ला अदालतमा मुद्दा दर्ता

होमल्याण्ड खबर

२०८२ आश्विन २७ गते, सोमबार १६:३७ मा प्रकाशित

सुन तस्करी गरेको अभियोगमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध जिल्ला अदालत काठमाण्डुमा मुद्दा दर्ता गरिएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले उनलाई आईतबार पक्राउ गरेको थियो। यसपटक थप अनुसन्धानका लागि म्याद नथपिइकनै जिल्ला सरकारी वकिलको कार्यालयले भन्सार छली र संगठित अपराध अन्तर्गत मुद्दा दर्ता गरेको हो।

महरा यसअघि पनि यही प्रकरणमा २०८० सालको चैत ५ गते पक्राउ परेका थिए। पहिलेदेखि अनुसन्धान भइरहेको विषय भएकाले यो पटक लामो अनुसन्धान समय नचाहिने भन्दै मुद्दा सिधै अदालतमा दर्ता गरिएको सरकारी वकिल कार्यालयको भनाइ छ।

२०७९ पुस १० गते, फ्लाई दुबईको एफजेड ०५८७ नम्बरको विमानमार्फत काठमाण्डु आएका चिनियाँ नागरिक लि हानसोङले २ वटा सुटकेशमा ७३ बट्टा ९७३० थान भेप० ल्याएका थिए। ती भेपभित्र ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको सुन लुकाइएको पाइएको थियो।

भन्सारका तत्कालीन नासु रेवन्त खड्कालगायतको मिलेमतोमा उक्त सुन बेचिएको खुलेको छ। अनुसन्धानका क्रममा महराले भन्सारमा दबाब दिएको प्रमाण फेला परेको बताइन्छ।

सोही प्रकरणमा उनका छोरा राहुल महरा पक्राउ परेर कारागार चलान भइसकेका छन् ।