प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति खारेजी गर्न माग गर्दै सर्वोच्चमा रिट

होमल्याण्ड खबर

२०८२ आश्विन २८ गते, मंगलवार १३:१८ मा प्रकाशित

प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति गैर संवैधानिक भन्दै सर्वोच्चमा रिट पुगेको छ । अदालतले रिट दर्ता खोलेलगत्तै सर्वोच्चमा प्रधानमन्त्रीको नियुक्ति र प्रतिनिधि सभा विघटनविरुद्ध रिट पुगेका हुन् ।

अधिवक्ता प्रेमराज सिलवाल र कृतिनाथ शर्मा पौडेल, युवराज सफल र कानूनका विद्यार्थी विपना शर्मा र आयुश बडाललगायतले रिट दर्ताका लागि निवेदन दिएको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए । रिटको अध्ययन भइरहेको उनको भनाइ छ ।

शर्मा र बडालको रिट निवेदनमा प्रधानमन्त्रीमा कार्कीको नियुक्ति असंवैधानिक भएकोले खारेज गर्नुपर्ने माग गरिएको छ । उनीहरूले सर्वोच्च अदालतको प्रधानन्यायाधीश भएको व्यक्ति कार्यकारी प्रमुख बन्न नपाउने दाबी गरिएको छ ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलन र विध्वंशपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।

प्रधानमन्त्री बनेलगत्तै कार्कीले प्रतिनिधि सभा विघटन गरेर फागुन २१ गतेका लागि चुनावको मिति घोषणा गरेकी थिइन् । प्रतिनिधि सभा विघटनको निर्णयलाई नेकपा एमालेले असंवैधानिक भन्दै कानूनी उपचार खोज्ने निर्णय गरेको थियो ।