२३ फाल्गुन २०८२, शनिबार
नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी पाएपछि उपसभापति पूर्णबहादुर खड्काले संस्थापनका नेताहरूसँग अगाडि बढ्नेबारे छलफल गरिरहेका छन् । धोबीघाटस्थित सिद्धार्थ कटेजमा बिहानैदेखि बसिरहेको बैठकमा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भइरहेको छ ।
बैठकमा सहभागी भइरहेका एक पदाधिकारीका अनुसार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि भन्दै सङ्कलन गरेको हस्ताक्षर, अब नियमित महाधिवेशन कहिले गर्ने, जेनजी आन्दोलनपछि पार्टीको रणनीति के हुनेलगायत विषयमा कुराकानी भइरहेको छ ।


बैठकमा सहभागी भएका नेताहरूले महाधिवेशन प्रतिनिधिहरूको म्याद असोज १० गते नै सकिएको बताइरहेका छन् । म्याद सकिएका महाधिवेशन प्रतिनिधिको हस्ताक्षरको अर्थ नहुने भन्दै नेताहरूले त्यसलाई महत्त्व नदिन आग्रह गरिरहेका नेताहरू बताउँछन् ।
केन्द्रीय समितिको वैधानिकता सकिनु अघि केन्द्रीय महाधिवेशन कार्यतालिका पारित गर्न खड्कालाई नेताहरूले सुझाव दिएका ती पदाधिकारीले बताए । महाधिवेशन प्रतिनिधिको वैधानिकता समाप्त भइसकेको भन्दै केन्द्रीय महाधिवेशनको मिति तोकेर नियमित महाधिवेशनमा जानुपर्ने संस्थापनका नेताहरूले बताउँदै आएका छन् ।