राजनीतिक भागबन्डाका यि ११ राजदूत फिर्ता

होमल्याण्ड खबर

२०८२ कार्तिक १ गते, शुक्रबार ११:०२ मा प्रकाशित

अन्तरिम सरकारले राजनीतिक भागबन्डामा नियुक्त ११ राजदूतलाई फिर्ता बोलाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले केपी ओली नेतृत्वको सरकारले १४ साउन ०८१ मा सिफारिस गरेका १० र त्यसअघिको सरकारले सिफारिस गरेका एक गरी ११ राजदूत फिर्ताको निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ११ राजदूत फिर्ताको निर्णय भएको र उनीहरूलाई आगामी २० दिनभित्र स्वदेश फर्किन निर्देशन दिइएको बताए । उनका अनुसार फिर्ता भएका राजदूतहरूमा नरेशविक्रम ढकाल (साउदी अरेबिया), धनप्रसाद पण्डित (इजरायल), शनिल नेपाल (स्पेन), डा. शैल रूपाखेती (जर्मनी), लोकदर्शन रेग्मी (अमेरिका), चन्द्रकुमार घिमिरे (बेलायत), जंगबहादुर चौहान (रुस), रमेशचन्द्र पौडेल (कतार), डा. कृष्णप्रसाद ओली (चीन), डा. नेत्रप्रसाद तिमल्सिना (मलेसिया) र डा. दुर्गाबहादुर सुवेदी (जापान) छन् ।

फिर्ता गरिएकाहरूमा ढकाल, पण्डित, नेपाल, रूपाखेती र पौडेल कांग्रेसको कोटाबाट राजदूत भएका थिए । रेग्मी, घिमिरे, चौहान, ओली र तिमल्सिना एमाले कोटाबाट राजदूत भएका थिए ।

सुवेदी २४ चैत २०७८ मा जापानका लागि राजदूत सिफारिस भएका थिए । त्यसवेला १२ जना राजनीतिक भागबन्डामा र आठजना परराष्ट्र मन्त्रालयबाट राजदूत सिफारिस भएका थिए । सुवेदी भने परराष्ट्रभन्दा कांग्रेस नेतृ डा. आरजु राणा देउवाको जोडबलमा राजदूत भएका थिए । सुवेदीले परराष्ट्र सेवाको सहसचिवबाट अवकाश पाइसकेका छन् ।

त्यसवेला सुवेदीसँगै सिफारिस भएका परराष्ट्रका सहसचिवहरूमध्ये घनश्याम भण्डारी (बंगलादेश), हरिश्चन्द्र घिमिरे (म्यानमार), निर्मलराज काफ्ले (ब्राजिल), भरतकुमार रेग्मी (अस्ट्रिया), सुशीलकुमार लम्साल (इजिप्ट), डोरनाथ अर्याल (ओमान) र तीर्थराज वाग्ले (बहराइन)मा राजदूतका रूपमा कार्यरत छन् ।

अमेरिकाका लागि राजदूत रेग्मी गत चैत पहिलो साता मात्रै कार्यक्षेत्र गएका थिए । उनी ढिलो गरी कार्यक्षेत्र गएकोमा आलोचित थिए । अमेरिका गएको ६ महिनामै उनलाई फिर्ता बोलाइएको छ ।

नेपालका तीन संयुक्त राष्ट्रसंघका लागि मिसनसहित ३४ राजदूतावास र १० महावाणिज्य दूतावास छन् । बेलायत, बहराइन, बंगलादेश, बेल्जियम, ब्राजिल, क्यानडा, चीन, डेनमार्क, इजिप्ट, फ्रान्स, जर्मनी, भारत, इजरायल, जापान, कोरिया, कुवेत, मलेसिया, म्यानमार, ओमान, पाकिस्तान, पोर्चुगल, कतार, रुस, साउदी अरेबिया, दक्षिण अफ्रिका, श्रीलंका, थाइल्यान्ड, युएई, बेलायत, अमेरिका, स्पेनमा नेपाली राजदूतावास छन् ।

न्युयोर्क, जेनेभा र भियनामा संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग छन् । सबै स्थायी नियोगमा परराष्ट्र मन्त्रालयका सहसचिवहरू स्थायी प्रतिनिधि/राजदूत छन् । चीनको छेन्दु, ल्हासा, हङकङ र ग्वाङझाओ, अमेरिकाको न्युयोर्क, डालस र सानफ्रान्सिस्को, युएईको दुबई, भारतको कोलकातामा र साउदी अरेबियाको जेद्दामा महावाणिज्य दूतावास छन् ।