३० कार्तिक २०८१, शुक्रबार
क्रिसमस डेको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना व्यक्त गरेका छन् ।
राष्ट्रपति भण्डारीले देश–विदेशमा रहेका क्रिश्चियन धर्मालम्बीहरुमा सुख, शान्ति र समृद्धिको शुभकामना सन्देश दिँदै बहुमूल्य सम्पदाको रुपमा रहेका चाडपर्व, भाषा, संस्कृतिको संरक्षण र प्रबर्द्धन गर्नु सबैको साझा दायित्व भएको बताएकी छन् ।
नेपालमा मनाइने चाडपर्वले विभिन्न सांस्कृतिक पहिचान बोकेका समुदायबीच सद्भाव र समन्वय अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै राष्ट्रपतिले सन्देशमा यस्ता पर्वले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाएर शान्त र समुन्नत नेपाल निर्माणमा प्रेरणा प्रदान गर्ने आफ्नो शुभकामना सन्देशमा लेखेकी छन् ।
यसैगरी प्रधानमन्त्री ओलीले धर्म निरपेक्षता संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख आधार भएको बताएका छन् ।
क्रिसमसडेका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले वहुभाषिक तथा वहुधार्मिक देश नेपालको विद्यमान संविधानले कुनै पनि धर्ममा आस्था राख्ने नागरिकप्रति भेदभाव नगर्ने कुराको प्रत्याभूति गरेको सन्देशमा उल्लेख गरेका छन् ।
‘सनातनकालदेखि बहुसंख्यक नेपालीले आस्था प्रकट गर्दै आएको धर्मका अतिरिक्त नेपालमा अन्य धर्म अवलम्वन गर्नेहरुले आ–आफ्नो आस्थाअनुसारका धर्मकर्म र रीतिरिवाज अभ्यास गर्ने स्वतन्त्रता समेत सुनिश्चित गरिएको छ,’ सन्देशमा लेखिएको छ ।
प्रधानमन्त्री ओलीले क्रिसमस डेका अवसरमा क्रिस्चियन धर्मावलम्बी सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइमा सुख, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायूको शुभकामना पनि व्यक्त गरेका छन् ।