३० कार्तिक २०८१, शुक्रबार
सरकारलाई बाहिरै बसेर समर्थन गरेको राष्ट्रिय जनता पार्टीले आफूहरुको माग सम्वोधन नगरेको भन्दै समर्थन फिर्ता लिने तयारी गरिरहेका बेला प्रधानमन्त्री केपी ओलीले राजपा नेताहरुलाई बालुवाटारमा बोलाएका छन् । प्रधानमन्त्री ओलीले राजपा नेताहरुलाई मंगलबार विहान दश बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएको राजपा महामन्त्री केशव झाले जानकारी दिए ।
राजपाले संविधान संशोधनमार्फत आफूहरुको माग सम्वोधन हुनुपर्ने, निर्वा्चित सांसद रेशम चौधरीलाई सपथ गराउनुपर्ने, आन्दोलनका क्रममा आफ्ना कार्यकर्तालाई लगाइएको मुद्दा फिर्ता लिनुपर्ने लगायतमा माग राख्दै दशैं अगाडि नै प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाएको थियो ।
आफूहरुको माग सम्वोधन नभए सरकारलाई लिएको समर्थन फिर्ता लिने राजपाले चेतावनी दिएको थियो । तर सरकारले राजपाको माग सम्वोधन नगरेपनि सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन । राजपा भित्र पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने नदिने विषयमा पनि विवाद छ ।
राजपा संयोजक राजेन्द्र महतो सरकारलाई दिएको समर्थन तत्काल फिर्ता लिन नहुने पक्षमा छन् भने अन्य केही नेताहरु समर्थन फिर्ता लिएर आन्दोलनमा जानुपर्ने पक्षमा छन् । राजपा संयोजकमा राजेन्द्र महतो नियुक्त भएपछि प्रधानमन्त्रीसँगको यो पहिलो भेट हो। प्रधानमन्त्रीसँगको भेटवार्तापछि राजपाले १ बजे पार्टी कार्यालय बबरमहलमा अध्यक्ष मण्डलको बैठक हुने जानकारी दिएको छ ।