दूतावासमा विद्युतीय सङ्ग्रहालय स्थापना हुने

होमल्याण्ड खबर

२०८२ कार्तिक १९ गते, मंगलवार १३:४८ मा प्रकाशित

ओमानस्थित नेपाली दूतावासले मस्कटमा विद्युतीय सङ्ग्रहालय स्थापना गर्ने निर्णय गरेको छ। नेपाल-ओमानबीचका महत्वपूर्ण घटनाक्रमहरू —जस्तै उच्चस्तरीय भ्रमणहरू, ऐतिहासिक दस्तावेजहरू, पुस्तकहरू, लेख, रचना तथा प्रकाशनहरु, अनुसन्धान सामग्री, तथ्याङ्क, तस्बिरहरू, भिडियोहरू, साथै पहिलो पटक भएका वा स्थापना भएका कुराहरू जस्तै सबैभन्दा पहिले ओमानको भ्रमण गर्ने वा रोजगारीका लागि ओमान आएका व्यक्तिहरूसम्बन्धी जानकारी विद्युतीय सङ्ग्रहालयमा समावेश गरिनेछ।

दूतावासले एक विज्ञप्ति जारी गर्दै यस माध्यमबाट नेपाल-ओमान सम्बन्धका विभिन्न आयामहरूको जानकारीलाई एकीकृत गर्न सकिनेछ, जसबाट महत्वपूर्ण दस्तावेज तथा घटनाक्रमहरूको अभिलेख तयार हुने जनाएको छ । सो अभिलेख सरकारी निकाय तथा अध्ययन तथा अनुसन्धानका लागि भावी पुस्ताहरूका लागि समेत उपयोगी स्रोत बन्नेछ र दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन सहयोग पुग्ने दूतावासले जनाएको छ ।

दूतावासका अनुसार नेपाल-ओमानबीचको बहुआयामिक सम्बन्ध सम्बन्धी जानकारी, दस्तावेज, तथ्य र सूचनाहरूलाई व्यवस्थित तथा वैज्ञानिक तरिकाले एकीकृत गरी भविष्यका लागि सुरक्षित रूपमा सङ्ग्रह गरिनेछ। सङ्ग्रहालयको प्रारम्भ टेलिभिजन र किओस्क मेसिन मार्फत गरिनेछ। साथै, सार्वजनिक गर्न मिल्ने महत्वपूर्ण कागजातहरू र तस्बिरहरू भौतिक रूपमा समेत प्रदर्शन गरिने जनाएको छ ।

उक्त कार्यका लागि दूतावासका प्रथम सचिव बिशेष कुमार साहको संयोजकत्वमा, नाजिम ओस्मान (अफिस सेक्रेटरी), रमेश प्रसाद अर्याल (चालक/मेसेन्जर) र लामो समयदेखि ओमानमा बसोबास गर्दै आएका नेपाली नागरिक तोलाकान्त भट्टराई (नेपाली समुदायका प्रतिनिधि) सदस्य रहेको एक समिति गठन गरिएको जनाएको छ ।

माथि उल्लेख गरिएअनुसार विद्युतीय सङ्ग्रहालयमा राख्न उपयुक्त सामग्रीहरू उपलब्ध गराइदिन अथवा सो सम्बन्धी कुनै जानकारी उपलब्ध भए दूतावासको निम्न इमेल वा फोन नम्बरमा सम्पर्क गरी उपलब्ध गराइदिन अनुरोध समेत गरेको छ।