फागुन २१ को निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्न सुझाव

होमल्याण्ड खबर

२०८२ कार्तिक २६ गते, मंगलवार १३:४२ मा प्रकाशित

पूर्वप्रमुख निर्वाचन आयुक्तहरूले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्न सुझाव दिएका छन् । सोमबार आयोगले पूर्वप्रमुख निर्वाचन आयुक्त, आयुक्त र निर्वाचन आयोगका पूर्वसचिवहरुको छलफलमा सरोकारवालाहरूले यस्तो सुझाव दिएका हुन् ।

फागुन २१ गते घोषणा गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले लिनुपर्ने रणनीति, अपनाउनुपर्ने सावधानीबारे पूर्वप्रमुख निर्वाचन आयुक्तसँग छलफल गरेको थियो ।

छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तहरू डा. जानकीकुमारी तुलाधर, सगुन शमशेर जङ्गबहादुर राणासहित पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती, पूर्वआयुक्त दोलखबहादुर गुरुङ, पूर्वसचिव सुरेश अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

आयोगसँगको छलफलमा सहभागी पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले फागुन २१ को निर्वाचनका सन्दर्भमा तयारी, आवश्यकता र अनुभवबारे आदानप्रदान भएको बताए । त्यस क्रममा उप्रेतीले विदेशमा रहेका नेपाली नागरिकको मताधिकारको सुनिश्चितालगायतमा छलफल भएको बताए ।

‘आयोगमा भएको छलफल अनुसार उहाँहरू फागुन २१ को निर्वाचन परम्परागत शैलीमा सम्पन्न गर्न तयार हुनुहुन्छ’, उप्रेतीले भने, ‘त्यो भन्दा अगाडि जान केही तयारी गर्नुपर्ने देखिन्छ ।’

उप्रेतीले प्रविधि प्रयोग गरेर मतदान गर्ने र विदेशमा बसेकाहरूलाई मतदान गर्ने व्यवस्थाको सुनिश्चितता गर्ने कि भन्ने सन्दर्भमा आयोगका अधिकारीहरूले सुझाव लिन खोजेको बताए ।

त्यस्तै शान्ति सुरक्षा र अहिलेको अवस्थामा सबै राजनीतिक पार्टीहरूले निर्वाचनमा भाग लिन हिच्किचाहेको अवस्थालाई कसरी सम्बोधन गर्ने भन्नेबारे समेत आयोग र सरोकारवालाबिच छलफल भएको छ । विदेशमा रहेका मतदाताका सवालमा सर्वोच्च अदालतको आदेश अनुसार कानुन बनिसकेकाले यदि त्यो कार्यान्वयन गर्ने हो भने नियमावली बनाउनुपर्ने अवस्था रहेको छ । उनले विदेशमा रहेका नेपालीलाई समेत मतदानको व्यवस्था मिलाउनतर्फ प्रयास गर्नुपर्ने सुझाव दिएको बताए ।

‘विदेशमा रहेका नेपालीलाई पनि मतदान गर्ने अवस्था मिलाउन सम्भव बनाउनुपर्छ’, उप्रेतीको भनाइ छ । त्यस्तै उनले यो पटकको निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्न सुझाव दिएको समेत बताए । ‘मैले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्न सुझाव दिएको छु । यसो गर्दा खर्चको हिसाबले पनि कम खर्च हुन्छ’, उनले भने, ‘नतिजा पनि चाँडो आउँछ ।’