मधेशमा मुख्यमन्त्री नियुक्तिविरुद्ध आज सर्वोच्चमा दुवै पक्षबीच छलफलपछि आदेश आउने

होमल्याण्ड खबर

२०८२ मंसिर १ गते, आईतवार ११:०० मा प्रकाशित

सर्वोच्च अदालतले मधेश प्रदेश सरकार गठनविरुद्धको मुद्दामा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न आज आइतबार दुवै पक्षलाई बोलाएको छ ।

बुधबार नपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्ण यादवसहित सातदलले दायर गरेको अन्तरिम आदेश मागबारे छलफलका लागि आज बोलाउने निर्णय भएको हो । बुधबार न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले दुवै पक्षबीच छलफलका लागि कात्तिक ३० आइतबार बोलाउने निर्णय भएको हो । मुख्यमन्त्री नियुक्तिसम्बन्धी कात्तिक २३ गतेको निर्णय तथा मन्त्रिपरिषद् गठनका सम्पूर्ण कागजात पछि फिर्ता लैजाने गरी कात्तिक ३० गते छलफलमा ल्याउन पनि आदेश भएको छ ।

न्यायाधीश पाण्डेयको आदेशमा विपक्षी मुख्य न्यायाधिवक्ता कार्यालय, मधेश प्रदेशलाई बाटोको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेश गर्न पनि निर्देशन दिइएको थियो । नेपाली कांग्रेस मधेश प्रदेशसभा संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ जना प्रदेशसभा सदस्यले कात्तिक २५ गते दायर गरेको रिटमा सर्वोच्चले यस्तो आदेश जारी गरेको थियो ।