फागुन २१ को निर्वाचनमा भाग लिन यि १२ दल दर्ता

होमल्याण्ड खबर

२०८२ मंसिर ३ गते, मंगलवार १०:४५ मा प्रकाशित

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिन नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सहित १२ राजनीतिक दलले निर्वाचन आयोगमा दर्ता गराएका छन् । आयोगले सोमबारबाट निर्वाचन प्रयोजनका लागि दल दर्ता सुरु गरेको हो ।

पहिलो दिन दर्ता भएका दलमध्ये पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा ११ औँ नम्बरमा दर्ता भएको छ । नेकपाका तर्फबाट राजेन्द्रप्रसाद पाण्डेसहितका नेता–कार्यकर्ता सोमबार आयोगमा पुगेर दल दर्ता प्रक्रिया पूरा गरेका थिए ।

निर्वाचन प्रयोजनका लागि दर्ता हुने पहिलो दल सन्ध्या खनाल नेतृत्वको देश विकास पार्टी, दोस्रो नम्बरमा दुर्गा सोव नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी, तेस्रो नम्बरमा द्रोण अधिकारी नेतृत्वको देशभक्त समाज पार्टी, चौथो नम्बरमा गीता क्षेत्री नेतृत्वको नेपाल लोकतान्त्रिक पार्टी, पाचौँ नम्बरमा नारायणमान विजुक्छे नेतृत्वको नेपाल मजदुर किसान पार्टी दर्ता भएको छ ।

यस्तै छैटौ नम्बरमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वप, सातौ नम्बरमा प्रभु साह नेतृत्वको आम जनता पार्टी, आठौँ नम्बरमा बुद्धलाल मेचे नेतृत्वको मंगोल नेशनल अर्गनाइजेशन पार्टी, नवौँ नम्बरमा विश्वेन्द पासवान नेतृत्वको बहुजन शक्ति पार्टी र दशौँ नम्बरमा अनिलकुमार झा नेतृत्वको नेपाल सद्भावना पार्टी दर्ता भएका छन् ।

यस्तै एघारौ नम्बरमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा र १२ औँ मेघबहादुर कामी नेतृत्वको नेपाल मानवतावादी पार्टी दर्ता भएको छ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनमा भाग लिन इच्छुक दलले मंसिर १० गतेभित्र दर्ता गरिसक्नुपर्ने छ ।