पार्टी एकता गर्दा धम्की आयो : अध्यक्ष दाहाल

होमल्याण्ड खबर

२०७५ पुष ११ गते, बुधबार १३:०८ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता गर्ने समयमा धम्की आएको बताएका छन् ।

पार्टी मुख्यालय धुम्बाराहीमा बुधबार बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले पार्टी एकता गर्ने समयमा विभिन्न पदीय प्रलोभन देखाइएको र प्रलोभनमा नफस्ने चाल पाएपछि धम्क्याउन थालेको बताएका हुन् ।
उनले भनेका छन् ‘दुई पार्टी एकता गर्ने तयारी थाल्दा बिभिन्न किसिमका प्रलोभनमा देखाइयो, त्यो प्रलोभनमा नफस्ने चाल पाएपछि धम्क्याउन थालियो ।’

राष्ट्रिय, अन्तर्रा्ष्ट्रिय परिस्थितिको वस्तुगत विश्लेषण गर्दै पार्टी एकता भएको बताउँदै पार्टी एकता नेतृत्वको मनोगत आग्रहका रूपमा मात्रै बुझ्नु नहुनेमा प्रचण्डको जोड थियो ।
उनले पछिल्लो परिस्थितिमा पनि हिजोकै मूल्यमान्यता र दृष्टिकोणबाट पार्टी चलाउन नहुने बताउँदै पुराना गुट, विचार समूहका नाममा हुने गतिविधिले जरा नगाडिसकेकाले गुटको थालनी रोक्नुपर्ने बताएका छन् ।

भित्रका गुटहरूको विघटन गर्नुपर्ने प्रस्ताव अघि सार्दै उनले एमाले र माओवादी केन्द्र एकीकरण भएर नेकपा बनिसकेको छ । हिजोकै गुट, विचार र अलगअलग पार्टीका मूल्य र आँखामा नेकपाको आन्दोलनलाई बुझ्नु नहुने बिचार राखेको स्थायी कमिटी सदस्य योगेश भट्टराइले बताएका छन् ।
त्यस्तै, उनले जारी स्थायी कमिटी बैठक आफूलाई स्कुल भएको बताउँदै सबै स्थायी कमिटी सदस्यको मनभित्र पस्न पाएको र विचार र भावनाको गहिराइमा पुग्न पाएको विचार व्यक्त गरेका थिए ।

बिहान झण्डै दुई घन्टा बोलेका अध्यक्ष प्रचण्डले पार्टी र सरकार सञ्चालनका क्रममा उठेका धेरै कुराको सम्बोधन भएको छ नेताहरुले बताएका छन् ।
साथै प्रचण्डले राजनीतिक प्रतिवेदन सच्याउन तयार भएको बताएका छन् । उनले बैठकमा आएका सुझावलाई समेटेर प्रतिवेदन परिमार्जन गर्ने आश्वासन दिएका छन्।
जारी बैठकमा अध्यक्षद्वयको प्रतिवेदन पुरा नभएको भन्दै वामदेव गौतम, भीम रावल, हरिबोल गजुरेललगायत आधा दर्जनले पुरक प्रतिवेदन लिखित रुपमा बैठकमा राखेका छन् ।