तेस्रो कार्यकालका लागि ओलीले गरे उम्मेदवारी दर्ता

होमल्याण्ड खबर

२०८२ मंसिर ३० गते, सोमबार १५:५४ मा प्रकाशित

नेकपा एमालेको जारी ११ औँ महाधिवेशनका क्रममा आज उम्मेदवारी दर्ता चलिरहेको छ । निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले तेस्रो कार्यकालका लागि उम्मेदवारी दर्ता गराएका छन् । बन्दसत्रस्थल भृकुटीमण्डपमा उनले निर्वाचन आयोगसमक्ष उम्मेदवारी दर्ता गराएका हुन् ।

ओलीलाई चुनौती दिन यसअघि नै ईश्वर पोखरेलले पनि उम्मेदवारी दर्ता गराइसकेका छन् । ओली पूरै प्यानलका साथ चुनावी मैदानमा उत्रिएका छन् । पोखरेलले पनि पदाधिकारीमा प्यानल बनाएका छन् ।

ओली समूहको प्यानल बनेसँगै केही असन्तुष्टि पनि देखिएको छ । ओलीनिकटका केही नेताहरूले समूह छोडेका छन् भने केहीले स्वतन्त्र उम्मेदवारी दिएका छन्। कृष्णगोपाल श्रेष्ठ पोखरेल समूहबाट सचिवको उम्मेदवार बनेका छन् भने रघुजी पन्त पनि पोखरेल समूहबाट उपाध्यक्षको उम्मेदवार बनेका छन् । अग्नि खरेल, राजेन्द्र गौतमलगायतका नेताहरू स्वतन्त्र उम्मेदवार बनेका छन् भने उपाध्यक्षको सूचीमा रहेका प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिने बताएका छन् ।