रास्वपामा समानुपातिक उम्मेदवार छनोट: ब्लू प्रिन्ट संवाद र शून्य समय आज र भोलि

होमल्याण्ड खबर

२०८२ पुष १० गते, बिहीबार १२:१३ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ आवेदन दिएका आकांक्षी उम्मेदवार छनोट प्रक्रिया अघि बढाउने भएको छ । छनोट रूपरेखा अन्तगर्त ब्लू प्रिन्ट संवाद र शून्य समय बिहीबार र शुक्रबार गर्ने भएको छ।

गोगंबुस्थित एक पार्टी प्यालेसमा बिहीबार २०१ जनाले आफ्नो प्रस्तुति दिने छन्। प्रस्तुतिका लागिएक जनालाई १० मिनेट ब्लू प्रिन्टको समय छुट्याइएको छ भने शून्य समय अन्तर्गत एक मिनेटमा कुनै एक विषयमा धारणा राख्नुपर्ने भनिएको छ।

समावेशी क्लस्टर अनुसार दलित, आदिवासी, खसआर्य, मधेसी, थारू र मुस्लिम लागि फरक फरक ६ कक्ष छुट्याएको छ। प्रत्येकका क्लस्टरका लागि तीन जना केन्द्रीय नेताले सहजीकरण गर्ने भएका छन्।

समावेशी अनुसार छुट्याइएको समूहमा एक जना केन्द्रीय नेता सोही क्लस्टरको पनि हुने गरी सहजीकरण टिम बनाइएको छ।

समानुपातिकका लागि ४२० जनाले आवेदन दिएको पार्टीले जनाएको छ। सबैभन्दा बढी आवेदन खस आर्य क्लस्टरमा परेको छ। त्यसपछि जनजाति र मधेशीको परेको छ।

भौतिक रूपमा उपस्थित हुन नसक्नेहरूका लागि भर्चुअल माध्यमबाट छनोट प्रक्रिया अघि बढाइने भएको छ ।

१२ र १३ पुसमा आकांक्षी उम्मेदवारको लागि प्रारम्भिक मतदानको समय तोकिएको छ। एक जनाले बढीमा ११० जना आकांक्षी उम्मेदवारलाई मत दिन पाउने छन्। प्रारम्भिक मतदान मोबाइल एप मार्फत गर्नुपर्नेछ।

समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा उम्मेदवार छनोट समितिको सिफारिसमा सहजीकरणका लागि केन्द्रीय समितिका सदस्यहरूलाई विभिन्न ५ वटा समूहमा विभाजन गरिएको छ ।

समूह १ मा मनिष झा,  गणेश कार्की,  निशा डाँगी, तपेश्वर यादव, समूह २ मा शिशिर खनाल, डा. तोसिमा कार्की,  पुकार बम, डा. अच्चुतम लामिछाने छन् ।

समूह ३ मा गणेश पराजुली, राजन गौतम, विन्दवासिनी कंसाकार, देवराज पाठक, समूह ४ मा दीपकराज बोहरा, असिम शाह, धु्रव गिरी, शिव नेपाली,  राजन गौतम छन् ।

समूह ५ मा हरि ढकाल, विनिता कठायत, अशोककुमार चौधरी, प्रकाश विष्ट तोकिएका छन् ।

वैकल्पिक व्यवस्थाको लागि समूह ६ नाम दिएर मोहनबहादुर थापा, अर्जुन अधिकारी, लक्ष्मी तिवारी, रामकृष्ण भट्टराई, विष्णुकुमार श्रेष्ठ, उपेन्द्र पाण्डे, मदन  खड्का र गोमा तामाङ (सरिन)लाई तोकिएको छ ।

यस्तै अनुगमनमा उपसभापति डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटीलाई जिम्मेवारी तोकिएको छ ।