२३ फाल्गुन २०८२, शनिबार
आशन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गर्ने ६४ राजनीतिक दलमध्ये २२ दलले मात्रै ११० स्थानमा उम्मेदवारी दिएका छन् ।
निर्वाचन आयोगमा यही पुस १३ र १४ गते पेस भएको बन्दसूचीमा २२ दलले मात्रै समानुपातिकको सबै स्थान ११० उम्मेदवारी मनोनयन गरेका हुन् । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले कूल ६४ दलले सूची बुझाएकामा ५८ दलले ५८ निर्वाचन चिह्नमा उम्मेदवारी दिएको बताए ।


सबै (११०) स्थानमा उम्मेदवारी दिने राजनीतिक दलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, मङ्गोल नेशनल अर्गनाइजेशन, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माले), श्रम संस्कृति पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल सद्भावना पार्टी, जनमत पार्टी, मितेरी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) रहेको छन् ।
यस्तै नेपाली जनता दल, राष्ट्रिय प्रजातान्त्रिक पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी), प्रगतिशील लोकतान्त्रिक पार्टी रहेका छन् । केही दलहरूले साझा निर्वाचन कायम गरी एकापसको सूची मिलाएर ११० स्थानमा बन्दसूची बुझाएका छन् । उक्त सूचीअनुसार औसत प्रति निर्वाचन चिह्नमा उम्मेदवारी दिने दलको सङ्ख्या ६० देखिएको छ । यस्तै न्यूनतम ११ स्थानमा बन्दसूची पेस गर्ने दलको सङ्ख्या १० रहेको छ । यसैगरी एकल चिह्न लिएका दलहरू १० रहेका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा २०७८ को जनगणनाअनुसार समावेशी समूहको प्रतिशतका आधारमा दलहरूले उम्मेदवारी दिएका छन् । यसबीचमा कतिपय दलबीच एकता र सहकार्यको सहमति भएकाले राति अबेरसम्म बन्दसूची बुझाउने क्रम जारी रहेको थियो । आयोगमा ९३ राजनीतिक दलले यस प्रणालीमा उम्मेदवारी दिन आवेदन दिएकामा जम्मा ६४ दलले मात्रै उक्त प्रणालीका लागि उम्मेदवारी दिएका हुन् ।
प्राप्त बन्दसूचीका सम्बन्धमा यही पुस १५ देखि २० गतेसम्म छानबिन गर्ने कार्यतालिकाअनुसार काम हुने बताइएको छ । आयोगले पुस २० गतेसम्म बन्दसूची छानबिन गरेपछि सच्याउनुपर्ने वा अपुग भाग जति भएमा पुस २१ गतेदेखि २७ गतेसम्म मिलाउन दललाई समय दिनेछ । यही पुस २८ गतेदेखि माघ ३ गतेसम्म दलले मिलाएको बन्दसूची जाँच गरिने आयोगले जनाएको छ । आगामी माघ २० गते अन्तिम सूची प्रकाशन हुनेछ ।