डडेल्धुरा कांग्रेसबाट उम्मेदवार बनेका नैनसिंह महरकाे यस्ताे छ राजनितिक यात्रा

होमल्याण्ड खबर

२०८२ माघ ८ गते, बुधबार ११:३३ मा प्रकाशित

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले यसपटक चुनाव नलड्ने घोषणा गरेपछि डडेल्धुरामा कांग्रेसले युवा नेता नैनसिंह महरलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ।

२०४८ सालदेखि २०७९ सम्म भएका सातवटा संसदीय निर्वाचनमा अपराजित रहेका देउवाको राजनीतिक किल्ला मानिने डडेल्धुरामा कांग्रेसले अन्ततः उनका विश्वासपात्र तथा निवर्तमान केन्द्रीय सदस्य महरलाई चुनावी मैदानमा उतारेको हो। देउवाको लामो संसदीय यात्रापछि आएको यो परिवर्तनलाई कांग्रेसले पुस्तान्तरणको संकेतका रूपमा लिएको छ।

महरको पृष्ठभूमि
डडेल्धुरा जिल्लाकाे भागेश्वर – २ लामिकाण्डेका कांग्रेस नेता नैनसिंह महरले अशिग्राम मा.वि रुपालमा कक्षा ८ बाटै नेविसंघकाे राजनीति सुरु गरेका थिए । २१ वर्षको उमेरमा २०५२ सालमा नेपाल विद्यार्थी संघ डडेल्धुराको कार्यवाहक अध्यक्ष भएका उनी २०५६ सालमा नेविसंघ डडेल्धुराकाे अध्यक्षमा निर्वाचित भएका थिए।

नेविसंघकाे जिल्ला अध्यक्ष रहँदाका बखत २०५३ सालमा कान्तिपुर दैनिकको रिपोर्टर बनेका महरले राष्ट्रिय समाचार समिति र रेडियो नेपालमा २०५७ सम्म काम गरे।

२०५४ सालमा पार्टीको डडेल्धुरा प्रचारप्रसार विभाग उपप्रमुखको रूपमा काम गरेका महर २०५७ मा नेविसंघकाे चितवन महाधिवेशनबाट केन्द्रीय सदस्य बने। केन्द्रीय सदस्य हुँदा नेविसंघकाे संगठन विभाग प्रमुख भएर समेत काम गरेका महर २०६४ सालमा नेविसंघकाे उपाध्यक्ष चुनिए।

२०७३ सालमा नेविसंघकाे निर्वाचित अध्यक्ष बनेका महर कांग्रेसकाे १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य चुनिएका थिए। त्रिभुवन विश्व विद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर र एलएलबी गरेका महरका पाँचवटा किताब प्रकाशित छन्।

२०६२/६३ सालको जनआन्दोलनमा तीन महिना जेल जीवन बिताएका महरले दैविक प्रकोप उद्धार पदक-२०५६ र कन्स्ट्रक्टिभ स्टुडेन्ड लिडर अवार्ड २०१० जीएनएससी (बेलायत) पाएका छन्। फागुन २१ मा डडेल्धुरामा देउवाकाे राजनीतिक विरासत जाेगाउने जिम्मा महरकाे काँधमा आएको छ। कांग्रेस भित्र महर डडेलधुरामा मात्र नभै देश मै लाेकप्रिय नेता भित्र पर्छन ।