चिनियाँ ठेकेदार कम्पनीले काम नगरेपछि ठेक्का तोडियो

होमल्याण्ड खबर

२०७५ पुष १५ गते, आईतवार १३:२७ मा प्रकाशित

नेपाल विधुत प्राधिकरणले चिनियाँ ठेकेदार कम्पनीले काम नगरेपछि तामकोसी–काठमाडौं ४०० केभी प्रसारण लाइन आयोजना अन्तर्गतको पहिलो खण्डको ठेक्का तोडेको छ ।

प्राधिकरणले चिनियाँ कम्पनीहरु ग्वाङसी ट्रान्समिसन एण्ड सबस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमसँगको तामाकोसी–काठमाडौ प्रसारण लाइनअन्तर्गतको न्यू खिम्ती–बाह्रबिसे खण्डको ठेक्का केही दिन अघि तोडेको हो ।

प्राधिकरणले ठेकेदार कम्पनीले राखेको ठेक्का रकमको १० प्रतिशत अर्थात १४ लाख ५४ हजार डलर र ६ करोड १६ लाख ७४ हजार रुपैयाँ कार्यसम्पादन जमानत जफत गरेको छ ।
यसैगरी, ठेकेदार कम्पनीले अग्रिम भुक्तानीका लागि राखेको १४ लाख ५४ हजार डलर र ६ करोड १६ लाख ७४ हजार रुपैयाँ बैक जमानत पनि जफत गरिएको आयोजना प्रमुख नवराज ओझाले जानकारी दिए ।

प्राधिकरणले कम्पनीसँग ११ असोज ०७३ मा १२ जेठ ०७६ मा निर्माण सम्पन्न गर्ने गरी १ करोड ४५ लाख ४३ हजार अमेरिकी डलर र ६१ करोड ६७ लाख ३६ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

कम्पनीले सम्झौतामा समय तालिकासहित उल्लेख भएका टावरको डिजाइन, ड्रोइङ, जग हाल्ने तथा जडान गर्ने, कन्टक्टर, इन्सुलेटर जस्ता उपकरणको उत्पादन, आपूर्ति तथा जडान गर्ने लगायतका काम गरेको थिएन ।

प्राधिकरण र कम्पनीबीच सबस्टसन निर्माणका लागि २५ डिसेम्बर २०१७ मा ८७ लाख ९३ हजार डलर र ३१ करोड ५४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । निर्माणको काम २४ फेब्रुअरी २०२० मा सक्ने गरी ठेक्का सम्झौता भएको हो ।
ठेक्का तोडी नयाँ ठेकेदार छनोटका लागि ठेण्डर आहन भइसकेको आयोजना प्रमुख ओझाले जानकारी दिए ।