२२ फाल्गुन २०८२, शुक्रबार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका उम्मेदवारहरूबिच सार्वजनिक बहसका लागि आफू ‘बिल्कुल’ तयार रहेको बताएका छन् ।
च्यासलमा कार्यकर्तामाझ घेरिएर हिँड्दै गरेको अवस्थामा शनिबार पत्रकारहरूसँगको कुराकानीमा ओलीले यस्तो बहसको आवश्यकता औँल्याएका हुन् ।


पत्रकारले भावी प्रधानमन्त्रीका उम्मेदवारबिच सार्वजनिक बहसका लागि तयार हुनुहुन्छ भनी प्रश्न गर्दा ओलीले भने, ‘वास्तवमा प्रधानमन्त्रीका क्यान्डिडेट हुँ भन्नेहरूका बिचमा संवाद कार्यक्रम राख्नु र त्यो एउटा पब्लिक डिबेट ओपन लाइभ त्यस्तो डिबेट गर्नु आवश्यक छ ।’ उनले किन प्रधानमन्त्री हुनुपर्ने, के गर्नलाई प्रधानमन्त्री हुनुपर्ने आदि कुराहरू छलफल हुनुपर्नेमा जोड दिए ।
पत्रकारले पुनः ‘त्यसो भए तयार हुनुहुन्छ ?’ भनेर सोध्दा ओलीले दृढतापूर्वक ‘बिल्कुल’ भन्ने उत्तर दिए ।
आगामी निर्वाचनलाई लक्षित गर्दै प्रमुख दलहरूले प्रधानमन्त्रीका रूपमा आ–आफ्ना उम्मेदवार अघि सारेका छन् । नेकपा एमालेले अध्यक्ष ओलीलाई नै प्रधानमन्त्रीका रूपमा घोषणा गरेको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँ महानगरपालिकाका निर्वतमान मेयर तथा वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीका रूपमा अघि सारेको छ ।
नेपाली कांग्रेसले भने भर्खरै भएको विधान महाधिवेशनबाट सभापति बनेका गगन थापालाई प्रधानमन्त्रीका रूपमा उभ्याएको छ ।
यी तीनजनामध्ये ओली र बालेन शाहले झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका छन् भने गगन थापाले यस पटक सर्लाही क्षेत्र नम्बर ४ रोजेका छन् ।
निर्वाचनअगाडि ठुला दलहरूले प्रधानमन्त्रीका रूपमा अघि सारेका उम्मेदवारहरूबिच यसखाले सार्वजनिक बहस हुनु नेपालका सन्दर्भमा नौलो हुन सक्छ ।