२२ फाल्गुन २०८२, शुक्रबार
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले पार्टीले नेताहरूमाथि गरिएको कारबाहीप्रति विरोध जनाएका छन् । खनालले नेकपाले नेता हरिबोल गजुरेलसहित सात जनालाई स्पष्टीकरणको समेत मौका नदिई कारबाही गरिएको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि पोखेका हुन् ।
खनालले सामाजिक सञ्जालमार्फत हरिबोलको कारबाहीको विषयलाई जोडेर पार्टीको असन्तुष्टीसमेत सार्वजनिक गरेका छन् । पार्टी एकता भएको लामो समय बिते पनि संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला निर्णयहरूमा आफूहरूसँग छलफल नगरेको उनको गुनासो छ ।


‘एकीकरण घोषणा भएको यति लामो समयपछि पनि नेपाली कम्युनिस्ट पार्टीभित्र नै नेतृत्वदायी कमिटी नै बन्न नसक्नु, संस्थागत निर्णय प्रक्रिया विकसित नहुनु, एकाध व्यक्तिहरूको इच्छाबमोजिम ठूलठूला निर्णयहरू गर्न थालिनु, यहाँसम्म कि कमरेड हरिबोल गजुरेलजस्ता वरिष्ठ नेताहरूमाथि स्पष्टीकरण दिने मौका पनि नदिकन पार्टीबाट निष्कासनसम्मको कठोर कारबाही हुनु, विभिन्न घटकबाट आएका नेताहरूलाई संस्थागत रूपमा जानकारीसम्म पनि नहुनु र एकैचोटी सार्वजनिक सञ्चारमाध्यमबाट थाहा पाउनु आश्चर्यजनक घटनाहरू भएका छन्’,खनालले असन्तुष्टि व्यक्त गर्दै भनेका छन् ।