आत्मसमीक्षासहित आए विप्लवलाई स्वागत गर्न तयार छौँ : प्रचण्ड

होमल्याण्ड खबर

२०८२ माघ १५ गते, बुधबार १३:४२ मा प्रकाशित

नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आत्मसमीक्षासहित बृहत् कम्युनिस्ट एकतामा सामेल हुन विप्लवलाई आग्रह गरेका छन् ।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा ⁠विप्लव नेतृत्वको पार्टीबाट विद्रोह गरेका नेताहरूलाई नेकपामा समायोजन गराउँदै प्रचण्डले कम्युनिस्ट एकतामा सामेल नभए पछिसम्म पश्चाताप हुने भन्दै आत्मसमीक्षासहित बृहत् एकतामा सामेल हुन विप्लवलाई आग्रह गरेका हुन् ।

उनले समाजवादी मोर्चामा हुँदा विप्लवलाई पनि एकतामा ल्याउने प्रयास अन्तिम चरणमा पुगेको तर जेनजी आन्दोलनपछि विप्लवको नेतृत्व वैचारिक अन्योलको भुमरीमा हराएको तर्क गरे ।

कुनै आवेगमा नभई राष्ट्रको असाधारण परिस्थितिमा कम्युनिस्ट आन्दोलनका घटकहरूलाई एकता गरेर शक्ति आर्जनको प्रयास गरेको भन्दै प्रचण्डले अहिले विप्लवले उक्त मौका गुमाएको धारणा राखे । अझै पनि विप्लवप्रति आफूहरूको कुनै आक्रोश नभएको र आत्मसमीक्षासहित आए स्वागत गर्न तयार रहेको उनको भनाइ छ ।

प्रचण्डले अहिले देश असहज परिस्थितिमा रहेकाले एकताबद्ध भएर देशव्यापी अभियानमा जान नसके देश अर्को दुर्घटनामा जान सक्ने भएकाले एकतामा जोड दिइएको बताए ।

त्यस्तैगरी उनले अन्य कम्युनिस्ट घटकहरूलाई समेत एकतामा सामेल हुन आह्वान गरे । विप्लव नेतृत्वको नेकपा माओवादीका केन्द्रीय सदस्य एवम् विद्यार्थी सङ्गठनका पूर्वअध्यक्ष चिरञ्जीवी ढकाल लगायतका नेताहरूलाई नेकपामा प्रवेश गराइएको थियो ।