१६५ वटै क्षेत्रमा उम्मेदवार उठाउने कांग्रेस मात्र हो : विश्वप्रकाश शर्मा

होमल्याण्ड खबर

२०८२ माघ १६ गते, बिहीबार १४:१० मा प्रकाशित

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आफूहरूले पार्टीभित्र जबरजस्ती रूपान्तरणको प्रयास थालेको बताएका छन्।

कांग्रेस रामेछापको कार्यक्रमलाई सम्बोधन गर्दै १६५ क्षेत्रमध्ये १०६ ठाउँमा नयाँ अनुहार पठाएको बताए।

उनले भने, ‘अघिल्लो चुनावमा गठबन्धन गरेर हामी चुनाव नै कम क्षेत्रमा लडेका थियौँ। सबै समुदायलाई समेट्न सकिएको थिएन, अहिले हामीले सबैलाई समेट्ने प्रयास गरेका छौँ।’

उनले पार्टीभित्र सबै पक्षलाई सन्तुलन मिलाएर टिकट वितरण गरेको बताए।

उनले भने, ‘कांग्रेसीहरुले मतपत्रमा कुन चिन्हमा हाल्ने हो भनेर खोजिराख्नुपर्ने पद्धतिको अन्त्य गरेको छौँ। सबैले रुख चिन्हमा भोट हाल्न पाउनेगरी उम्मेदवारी दर्ता गराएका छौँ। अरू कुनै दलले १६५ वटै क्षेत्रमा उम्मेदवार बनाएका छैनन्, १६५ निर्वाचन क्षेत्रमा भएको चिन्ह रुख मात्रै हो, हाम्रो प्रतिस्पर्धी अरू कुनै दलको छैन ।’